काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति दुःख व्यक्त गरेका छन्।
उनले तामाङकी श्रीमती मार्था एलीलाई सोमबार पठाएको शोक पत्रमा प्रशान्तको निधनले अपूरणीय क्षति भएको भन्दै उनको गायन र अभिनय कलाको प्रशंसा गरेका हुन्।
‘आफ्नो भावपूर्ण गायकी र उत्कृष्ट अभिनयले प्रशान्त तामाङ जीले मनोरञ्जनको दुनियाँमा आफ्नो लागि एक विशिष्ट स्थान बनाउनुभयो। दृढ संकल्प र विशाल प्रतिभाको प्रतीक उहाँले देशभरका करोडौँ मन छुनु भयो। प्रशान्त तामाङजी अनगिन्ती मानिसहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्छ,’मोदीको हस्ताक्षर रहेको पत्रमा उल्लेख छ।
प्रशान्तको जीवन यात्राले युवाहरूलाई सपनामा विश्वास गर्न र कडा परिश्रम गर्न प्रेरित गर्ने उल्लेख गरेका छन्। उनले पत्रमा लेखेका छन्, ‘यस कठिन घडीमा उहाँसँग बिताएका क्षणहरूको सम्झनाले परिवारलाई सान्त्वना प्रदान गर्नेछ। परिवारका सदस्यहरू र उहाँका असङ्ख्य प्रशंसकहरूलाई यो दुखद क्षति सहन सक्ने शक्ति र धैर्य प्रदान होस्।’
यसअघि भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि प्रशान्तको निधनप्रति दुःख व्यक्त गरेकी गरेकी थिइन्। गायक तथा अभिनेता प्रशान्तको आइतबार बिहान कार्डियक अरेस्टका कारण दिल्लीमा निधन भएको थियो।
सोही दिन दिल्लीको अस्पतालमा पोस्टमार्टम गरेपछि सोमबार उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि जन्मथलो दार्जिलिङ पुर्याइएको थियो। उनको मंगलबार आफ्नै गाउँमा सम्मानसहित अन्त्येष्टि गरिँदैछ।

