काठमाडौं । चितवनमा ट्राफिक प्रहरीले मुख्य चारवटा चेकिङ प्वाइन्ट- फिस्लिङ, जुगेडी, गोन्द्राङ र लोथरमार्फत नियमित रूपमा असुली गर्दै आएको खुलेको छ।
फिस्लिङमा असई सुरज रिमालको कमाण्डमा चार जना ट्राफिक प्रहरी खटिने गरेका छन् भने जुगेडीमा हवल्दार नेतृत्वको तीन सदस्यीय टोली तैनाथ छ। धादिङसँगको सिमाना फिस्लिङ ट्राफिक प्रहरीको लागि आकर्षक ठाउँ हो। आर्थिक हिसाबमा राम्रो रहेको फिस्लिङ जान धेरैको लडाइ हुन्छ।
असई रिमालको टोलीले जिल्ला ट्राफिक प्रमुखलाई रिझाएर व्यापक असुली धन्दा चलाइरहेको स्रोत बताउँछ। जसले गर्दा रिमाल जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिल थापाको नजिक भएर काम गर्ने गरेका छन्। यस्तै जुगेडी पनि कमाइ हुने ठाउँ हो। जहाँ ट्राफिक प्रहरीको भन्दा नेपाल प्रहरीको बढी चल्ने गर्छ।
त्यस्तै, गोन्द्राङमा असई बिदुर नेपाली छन्।गोन्द्राङ पोष्टका इन्चार्ज असई नेपाली ‘असुलीमा माहिर’ भनेर चिनिन्छन्। उनी यसअघि २१ महिना लोथरमा बसेर, टाँडी सरुवा हुँदै पुनः गोन्द्राङमा फर्किन सफल भएका छन्। ट्राफिक प्रहरीको लागि कमाइको हिसाबले गोन्द्राङ एक नम्बर हो।
र, लोथर ट्राफिक पोष्टको इन्चार्ज बलबहादुर थापा छन्। उनको कमाण्डमा पनि त्यहाँ ३ जना ट्राफिक प्रहरी कार्यरत छ। मकवानपुर जिल्लाको सिमाना भएको कारण लोथर जानको लागि जवानदेखि इन्चार्जहरु थुप्रै लागिपर्छन्।
मनहरी गाउँपालिकाको नदीजन्य पदार्थमा लाग्ने शुल्क उठाउने ढाट लोथरमै रहेको छ। तर, सेटिगं मिलाएर नकाटी छाड्ने गरिन्छ । त्यो बापतको रकम टाफिक प्रहरीले पाउने हो। त्यसैले लोथर जान खोज्ने धेरै हुन्छन्।
यस्तै धेरैभन्दा धेरै टिपर र ट्याक्टर चल्ने भएकै कारण लोथर जान खोजेका हुन्छन्। थापाले पनि जिल्ला ट्राफिक प्रमुखसँग सम्बन्ध राम्रै बनाएका छन्।
यी चेकिङ प्वाइन्टहरुमा खटिएका टाफिक प्रहरीले हप्ता नदिने सवारीसाधनलाई कागजपत्र सबै भए पनि अनावश्यक दुःख दिई घण्टौँ सडकमै रोक्ने गरेका छन्।
यसबाहेक पारस बसपार्क र पोखरा बसपार्क क्षेत्रमा भने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबाटै छुट्टै टोली खटाइने गरिएको छ। यी टोलीहरूको मुख्य काम यात्रु क्षमताभन्दा बढी चढ्न दिएर सरासर रकम असुल्नु रहेको स्थानीय चालकहरूको आरोप छ।
यसैगरी, बजार क्षेत्रका पिक एण्ड ड्रप निषेधित स्थानमा समेत रकम लिएर सवारी रोक्न दिने गरेको तथ्यसमेत खुलेको छ। पूर्वतर्फबाट भित्रिने मालबाहक सवारी साधनसँग ‘सम्बन्ध’ बनाएर नक्कली रेट तोकी पैसा उठाउने कार्य व्यापक छ।
इन्स्पेक्टर थापाका चालकका रूपमा खटिएका ट्राफिक प्रहरीले समेत रकम उठाउने काममै संलग्न हुने गरेको स्रोत बताउँछ। यसै क्रममा ‘Tango Mobile -1’ र ‘Tango Mobile -2’ नामक टोली बजार क्षेत्रमा लाइन मिलाउने तथा असुलीमा सहयोग पुर्याउने काममा प्रयोग हुने गरेको छ।
त्यसैगरी, जुटपाटी, पदमपुर र खोलेसिमल क्षेत्रमा यात्रुबाहक तथा मालवाहक ट्याक्टरबाट तोकिएको रेटअनुसार पैसा उठाउने कार्य भइरहँदा तेस्रो पटक खैरहनी जान सफल प्रहरी हवलदार रामबहादुर नाथले पनि ट्याक्टर–टिपरबाट निर्धारित रेटअनुसार रकम असुल्ने तथा पूर्वतर्फबाट आएका गाडीलाई अनावश्यक दुःख दिने गरेको गुनासो बढिरहेको छ।
पश्चिम चितवनका चनौली र गितानगर क्षेत्रका ट्राफिक प्रहरी पनि ‘माथिको आदेश’ भन्दै चालकहरूलाई अनावश्यक झन्झट गर्ने र असुली दबाब बढाउने गरेको स्थानीयको आरोप छ।
यो पनि पढ्नुहोस्
त्यतिमात्र नभएर बेला बेला ट्राफिक प्रहरीले भित्री सडकमा लुकेर चेकिङगर्ने बहानामा पैसा उठाउने गरेको पदमपुर, जुटपानीका स्थानीयहरु बताउँछन् । एक स्थानीय भन्छन्, ‘खाली बाटो भएको बेलामा आफ्नै गतिमा मोटरसाइकल चलाएको हुन्छ । तर, कुनैबेला एक्कासी लुकेर बसेका टाफिक बाहिर आएर मोटरसाइकल रोक्न खोज्छन्, जसले गर्दा दुर्घटना हुने जोखिम समेत ट्राफिक प्रहरीले बढाएको छ।’
यसरी खुलेआम रुपमा चितवनमा ट्राफिक प्रहरीले सर्वसाधारणहरुलाई दुःख दिइरहँदा सम्बन्धित निकाय प्रदेश प्रहरी कार्यालय बागमितका प्रमुख डिआईजी अरुण पौडेल र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी डिल्लीनारायण पाण्डे मौन बस्नुले उनीहरुको भूमिका पनि शंकास्पद देखिएको छ ।
अझ भनौं, एसपी पाण्डेको कार्यालय र जिल्ला टाफिक प्रहरी कार्यालय चितवन ७ किलोमिटरको दुरीमा छ। तर, जिल्ला ट्राफिक प्रहरी कार्यालयको गतिविधि देखेर अर्थात थाहा पाएर पनि थाहा नपाएझैं गरी बस्नु उनीमाथि समेत प्रश्नचिन्ह खडा भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर थापाले करिब दुई महिना कमाण्ड सम्हालेपनि ट्राफिक व्यवस्थापनभन्दा अवैध उठ्तीमै बढी ध्यान गएको भन्दै उनी विवादमा तानिएका छन्। असोज २८ गतेको नियमित सरुवाबाट थापा चितवन गएका हुन्।
