काठमाडौं । देशभरका विभिन्न सहकारी संस्थाहरूको रकम दुरुपयोग गरेको दाबीका आधारमा प्रभु बैंकका उच्च पदाधिकारी र कर्मचारीहरूमाथि प्रहरीको चासो बढेको छ।
सोही मुद्दासँग सम्बन्धित रहेर बैंकका सीईओ अशोक शेरचन तथा डीसीईओ लमणिराम पोखरेलसहित केही कर्मचारीहरुलाई हिजाे प्रहरीले अनुसन्धान सहजीकरणका लागि पक्राउ गरेको हाे ।
यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले व्यापक वित्तीय लेनदेन, दस्तावेज तथा सम्भावित संलग्नता सम्बन्धी प्रमाण संकलन गरिरहेको जनाएको छ।
ब्यूरोले यसअघि भएको प्रारम्भिक अध्ययनका आधारमा केही व्यक्तिहरूलाई निगरानीमा राखेको र आवश्यक परे थप कानुनी प्रक्रिया अघि बढाइने स्राेतकाे दाबी छ।
सिआईबीले प्रभु बैंकका केही कर्मचारी तथा संबंधित व्यक्तिहरूविरुद्ध अनुसन्धान जारी रहेको जनाएको छ।
अनुसन्धानमा परेका व्यक्तिहरूमा निम्न नामहरू रहेको बुझिएको छः
रश्मि पन्त, राजु कडेल, रोसन भुसाल, थम्मन भण्डारी, रेणु पाण्डे, योगेश उपाध्याय, रमेश श्रेष्ठ, सुदिप पाण्डे, छितिज सेरचन, भोला पाठक, रमन श्रेष्ठ, अभिषेक बज्राचार्य, निरज श्रेष्ठ र गीता प्रधान रहेका छन् ।
बैंकका सीईओ शेरचन तथा डीसीईओ पोखरेल पक्राउ परेपछि रश्मि पन्त भने अहिले फरार रहेकी छिन् ।
सिआईबी गाेप्य स्रोतका अनुसार हालसम्म प्राप्त सूचनाका आधारमा सुरुवाती अनुसन्धान भइरहेको र आवश्यक प्रमाण तथा विवरण प्राप्त हुनासाथ कानुनी कदम अघि बढ्ने बताएको छ।
सिआईबीले सबै पक्षलाई कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गर्दै अनुसन्धान पूरा नहुञ्जेल कुनै पनि पक्षलाई दोषी वा निर्दोष घोषित नगर्न सार्वजनिक तथा सञ्चार माध्यमलाई आग्रह गरेको छ।
