काठमाडौं । निरन्तरको अविरल वर्षासँगै आएको बाढी र पहिरोले इलाम जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाले विभिन्न स्थानमा पहिरो गएपछि आइतबार बिहानसम्म कम्तीमा १७ जनाको मृत्यु भएको पुष्टि भएको छ।
जिल्लाको इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ । सो स्थानमा सशस्त्र प्रहरीको श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो ।
यसैगरी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ ।
घर भत्किएको ठाउँबाट ४ जनाको शव निकालिएको थियो भने घाइते १ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
सो स्थानमा मानेभन्ज्याङबाट सशस्त्र प्रहरी नायव निरीक्ष सुरेन्द्र डोटेलको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।
यसैगरी इलामको देउमाई नगरपालिका–५ घुसेनीस्थित दीपक लिम्बुको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । १ जनालाई सकुशल उद्धार गरिएको छ ।
यसैगरी माङसेबुङ गाउँपालिका–५ स्थित पार्टीगाउँमा मदन लिम्बुको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ ।
फाकफोकथुम गाउँपालिका–३ रातोमाटे बस्ने ३२ वर्षीय सुरेश लिम्बुको पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
