नेपाल प्रहरीको संगठन प्रमुख (आईजीपी) चयनको समय नजिकिँदै जाँदा यसपटक बेचन झा प्रकरणले ठूला दल र सरकारलाई ‘सावधान’ बनाएको छ । हालका प्रहरी महानिरीक्षक दिपक थापा भदौ १९ मा ३० वर्षे सेवाअवधि पूरा गर्दै अनिवार्य अवकाशको म्यादमा पुग्दैछन्।
तर, उनको पदावधि थप्ने वा नयाँ अनुहारलाई नेतृत्व दिने भन्ने विषयमा सरकारभित्र गहिरो बहस सुरु भएको छ।
भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहित उच्च तहसम्मै प्रभाव परेको छ। सोही मुद्दामा व्यापारी बेचन झा पक्राउ परेपछि प्रहरी संगठन र राजनीतिक वृत्त दुबै हल्लिएको थियो।
प्रहरी संगठनभित्र कार्यरत एआइजी दानबहादुर कार्की जिल्ला प्रहरी परिसर काठमाडौं र डा. मनोज केसी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा उक्त मुद्दा अघि बढेको थियो। यही घटनाले सरकारलाई अहिले आईजीपी छनोटमा अझ सजग बनाएको एक जानकारको दाबी छ।
प्रहरी मुख्यालयभित्र थापा अझै पनि ‘माहिर खेलाडी’का रूपमा चिनिन्छन्। आईजीपी बन्ने क्रममा उनले प्रतिद्वन्द्वीहरूलाई पछाडि पारेका थिए। उनी माओवादी नेतृत्वसँग नजिक मानिन्छन्।

चितवन महानगरमा रेणु दाहाललाई जिताउन खेलेको भूमिका, बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पीओसोको जिम्मेवारी सम्हालेको प्रसंग र प्रचण्डसँगको सम्बन्ध अहिले पनि उनको पक्षमा बलियो आधार मानिन्छ।
तर, भुटानी शरणार्थी प्रकरणले ल्याएको राजनीतिक ‘भूकम्प’ले सरकारलाई सजिलो निर्णय लिन नसक्ने अवस्थामा पुर्याएको छ। दलगत समीकरण मिलाउनुपर्ने दबाब र संवेदनशील फाइलहरू फेरि खुल्ने आशंकाले नयाँ आईजीपी चयन प्रक्रियामा थप जटिलता बढाएको छ।
सरकारसमक्ष अहिले दुई विकल्प छन्—थापाको म्याद थप्ने वा नयाँ अनुहारलाई अगाडि बढाउने। तर दुबै विकल्पमा राजनीतिक जोखिम बराबर देखिएको छ। माओवादी पृष्ठभूमिबाट नजिक ठहरिएका थापालाई निरन्तरता दिनु सरकारका लागि सजिलो निर्णय नहोला।
त्यसैले पुराना मुद्दा फेरि बाहिरिने सम्भावनाले सत्ता गठबन्धन सजग भएको बताइन्छ।
यसरी हेर्दा, आगामी आईजीपी चयन केवल प्रशासनिक प्रक्रिया मात्र नभई संवेदनशील राजनीतिक मुद्दा बन्दै गएको छ। बेचन झा प्रकरणपछि सरकार ‘सावधान’ छ, तर अन्ततः निर्णय कुन दिशातर्फ मोडिन्छ भन्ने प्रतीक्षा अझै बाँकी छ।नवराज सिलवाल प्रकरण नहोला भन्न सकिन ?
यो पनि पढ्नुहोस्…
प्रहरी संगठनमा पाक्दैछ खिचडी !
धिरज-दिपक गठजोडः ३० वर्षे सेवाअवधि हटाउन मरिमेटी !
सरकार आईजीपीको कार्यकाल बढाउन सक्रिय, “कानुनी र राजनीतिक प्रश्न उठ्दै”
