- सुजन पन्त
प्रहरी महानिरीक्षक दिपक थापाको कार्यकाल सकियो । सकियो के भन्नु पदावधी थपको चर्चा सुरु भयो । ५ महिनाअघि प्रहरी महानिरीक्षक बन्न कसरत । अब दाल चामलको जोहो गरेर प्रहरी महानिरीक्षक नामको पदावधी थपेर खिचडी बनाउने कसरत ।
तर हिजोआज जसरी दाल र बिचौलियाहरूले आआफ्नो भाउ बढाको बढायै छन्, त्यस्तै छ प्रहरी महानिरीक्षकको पनि । को कता के हुने हो, कता मोडिने, को को तोडिने हो, थाहा छैन । त्यसै कहाँ खिचडी पाक्छ र ? त्यसैले खिचडी सजिलै र छिट्टै पाक्ला भन्ने कुरामा सन्देह छ ।
यसले मलाई वीरबलको खिचडीको सम्झना दिलाइरहेको छ । जनता चाहिँ खिचडी पाक्ला, केही होला भनेर बस्नुमात्रै होला जस्तो छ । फेरि कसैलाई नेपाली कांग्रेस दाइना, कसैलाई नेकपा एमाले । हेरौं, खिचडी पकाउने जिम्मा कसले चैं हो पाउन्या ।
हालका प्रहरी महानिरीक्षक थापा विद्यमान प्रहरी नियमावलीअनुसार आगामी १८ भदौदेखि अवकाशमा जाँदैछन् । ३० वर्षे सेवाअवधीका कारण अवकाशमा जान लागेका बेला थापाको पदावधी थपिने चर्चा सुरु भएको छ । त्यतिमात्र नभएर एक महिना अघिदेखि थापापछिको प्रहरी महानिरीक्षक फलानो भनेर समेत चर्चा भइरहेको थियो ।
त्यसैले यहाँ प्रसंग निकालिएको कुरा प्रहरी महानिरीक्षक थापाको पदावधी थप हुन्छ कि हुन्न ? भन्ने विषय हो । अवकाशमा जाने दिन नजिकिँदै गर्दा थापाको पदावधी थपिने हल्लाले उनको राजनीतिक पहुँच राम्रो भएकोले सरकारले निर्णय गर्न खोजेको भन्दै एकथरीले टिप्पणी गरेका छन् ।
यद्यपी थप नभएमा उनी १८ भदौ रातिदेखि अवकाशमा जानेछन् । तर, उनकै लागि वर्तमान सरकारले केही निर्णय लिनसक्ने सम्भावना भने बाँकी छ । सबै राजनीतिक दलका नेताहरुसँग सम्बन्ध राख्न माहिर थापालाई मन्त्रिपरिषद्को निर्णयमार्फत ३० वर्षे सेवाहद हटाएर थप ६ महिना पदमा निरन्तरता दिने विषयमा छलफल भइरहेको छ ।
थापाको सत्तागठबन्धनसँग राम्रो सम्बन्ध रहेको र सम्भावित उत्तराधिकारी चन्द्रकुवेर खापुङसँग राजनीतिक निकटता रहेको कारण पनि पदावधि थप्ने सम्भावना बढेको देखिएको छ । यी त तपाईहामीले देखेबुझेका कुराहरुलाई लिएर एउटा बहसको विषय बनाइयो ।
बाँकी निर्णय सरकारको हो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली हुन् भने गृहमन्त्री रमेश लेखक । संसदको ठूलो दल नेपाली कांग्रेस अर्थात सत्ता साझेदार दललाई समेत मिलाएर प्रधानमन्त्री ओलीले प्रहरी महानिरीक्षकको पदावधी थप गर्ने/नगर्ने विषयमा निर्णय लिनुपर्ने हुन्छ ।
प्रहरी महानिरीक्षक पदावधी थप गर्ने निर्णयको सिफारिस गृहमन्त्रीले मन्त्रिपरिषद् बैठकमा लैजाुनपर्ने हुन्छ । लेखक नेपाली कांग्रेसका नेता हुन् । जसकारण कांग्रेसले मात्र सहमति नगरेको अवस्थामा प्रधानमन्त्री ओलीले मात्रै एकलौटी निर्णय गर्न सक्ने अवस्था अहिले छैन भने एमालेले पनि सहमति नगरेको अवस्थामा कांग्रेसले मात्र सिफारिस मन्त्रिपरिषद्मा लैजान सक्दैन ।
त्यसैले प्रहरी महानिरीक्षकको पदावधी थपको निर्णय प्रधानमन्त्री र गृहमन्त्रीको तजबिकको अधिकार पनि हो ।
त्यसैले अहिले नै केही भनिहाल्न सक्ने अवस्था छैन । यसअघिका प्रहरी महानिरीक्षकहरुले पनि अवकाश पाउनु केही समयअघि पदावधी थप गर्ने विषय चर्चामा आउँथ्यो । अन्ततः त्यत्तिकै सकिन्थ्यो । र, अर्को नयाँ प्रहरी महानिरीक्षक नियुक्तिको चर्चा सुरु हुन्थ्यो ।
प्रहरी महानिरीक्षक थापा अवकाशको पूर्वसन्ध्यामा कर्णाली प्रदेशतिरका प्रहरी युनिटहरुको निरीक्षण एवं अनुगमन गरिरहेका छन् । जबकी यसअघिका हाकिमहरु काठमाडौंमै रहेर पदावधी थपको लागि नेताहरु भेट्ने, चाकडी गर्ने गर्थे । तर, थापाको यो अभ्यासले प्रहरी संगठनभित्र १४ भदौसम्म प्रहरी संगठनभित्र केही न केही खिचडी पक्कै पाक्ने बताइएको छ ।
त्यसको लागि अब ४ दिन कुरौं । सबै कुरा थाहा पाइहाल्नु हुन्छ ।
