काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले माइतीघर मण्डलामा पुगेर उखु किसानहरूको आन्दोलनलाई समर्थन गरेका छन् ।
सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उखु किसानहरुले आइतबारदेखि निरन्तर प्रदर्शन गरिराखेका छन् । सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णयपश्चात उखु किसानहरु उखु नै बोकेर आन्दोलनमा होमिएका हुन् । तराईका विभिन्न जिल्लाहरु बारा, पर्सा, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासीलगातका जिल्लाबाट किसानहरु सहभागी छन् ।
आन्दोलनलाई सम्बोधन गर्दै भट्टराईले सरकारले उखु किसानहरुलाई ब्ल्याकमेलिङ गरेको बताए ।
उनले भने, ‘मिल मालिकहरु र सरकारका मान्छेहरुले विचौलियाहरुसँग मिलेर मूल्य तोक्ने, त्यो पनि विभिन्न बहानामा वर्ष दिन, २ वर्षसम्म अड्काएर राख्ने । अनि तपाईँले उखु २ वर्षसम्म राख्न सक्नुहुन्छ ? रस सुकेपछि त सुकिहाल्यो नि । तपाईँहरु सस्तोमा बेच्न बाध्य हुनुहुन्छ । अनि यसरी ब्ल्याकमेल गर्ने हो किसानहरुलाई ? यो ढङ्गले जुन भइरहेको छ, बेठीक भएको छ ।’
साथै, आफू २०६५ सालमा अर्थमन्त्री भएको बेलामा ल्याएको बजेटमा कृषिको बजेट अघिल्लो वर्षको तुलनामा दोब्बर बनाएको पनि उनले स्मरण गराए ।