टोकियो । जापानमा नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर आगामी अगस्ट २३ (शनिबार) र २४ (आइतबार) तारिखमा टोकियोको प्रसिद्ध शिबा पार्क (टोकियो टावर नजिकै) मा दुईदिने “तीज फेस्टिवल-२०२५” आयोजना हुने भएको छ।
सन् २०१९ मा पहिलो पटक आयोजित ‘तीज फेस्टिवल-२०१९’ लाई जापानवासी नेपालीहरूको अपार माया र सहभागिताले सफल बनाएको स्मरण गर्दै यस वर्ष थप भव्यताका साथ फेस्टिवल आयोजना गर्न लागिएको डेस्टिनी क्रिएसनका संस्थापक असिम बस्नेतले जानकारी दिए ।
यस वर्षको तीज फेस्टिवलमा नेपालबाट लोकगायक पशुपति शर्मा, गायिका सुनिता दुलालसहित अन्य चर्चित कलाकारहरू सहभागी हुनेछन्। साथै, जापानमै रहँदै आएका लोकप्रिय कलाकारहरू सूर्य खड्का, रितु थापा मगर लगायत अन्य स्थानिय कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ।
फेस्टिवलमा सांस्कृतिक प्रस्तुतिसहित नेपाली खानाका विभिन्न परिकार, नेपाली कला-संस्कृतिको प्रदर्शन, मनोरञ्जनात्मक गतिविधिहरू तथा भेटघाटका लागि विशेष अवसर हुने डेस्टिनी क्रिएसनले जनाएको छ।
कार्यक्रममा सहभागी हुन चाहनेहरूको सहजताका लागि अग्रिम टिकट अनलाइनमार्फत् जम्मा एक हजार येनमा उपलब्ध गराइएको छ। अनलाइन टिकट लिन चाहनेहरूले dcticketing.com र ticketkhai.com मार्फत् सहज रूपमा टिकट खरिद गर्न सक्नेछन्।
“तीज फेस्टिवल-२०२५” मा उल्लेख्य संख्यामा नेपाली समुदाय तथा स्थानीय जापानीहरूको समेत सहभागिता हुने अपेक्षा गरिएको छ। आयोजक संस्थाले सबैलाई हार्दिक निमन्त्रणा गर्दै यस ऐतिहासिक नेपाली सांस्कृतिक कार्यक्रममा सहभागी भएर आफ्नो माया र सद्भाव दर्शाउन अपिल गरेको छ।