काठमाडौं । नेपालमा राष्ट्रिय अनुसन्धान विभागले गोप्य सूचना संकलन गरेर सरकारलाई उपलब्ध गराउने काम गर्छ । त्यसैले गुप्तचरी निकायलाई सरकारको आँखा, कान र दिमाग भन्ने गरिन्छ ।
गुप्तचरको सूचनाका आधारमा सरकार र सुरक्षा निकायले आवश्यक सावधानी र पूर्व तयारीको काम गर्छन् । जसकारण गुप्तचर निकायको काम, गतिवधि र कार्यक्रमस्थल सबै अत्यन्त गोप्य राखिन्छ ।
नेपालको कानुनमै गुप्तचरसम्बन्धी कुनैपनि गतिविधि, सूचना वा प्रतिवेदन सार्वजनिक गर्न निषेध छ । त्यसैले गुप्तचरको सूचनामा क्षति पुर्याउने वा चुहावट गर्ने कार्य राज्यविरुद्धको अपराध मानिन्छ ।
तर, पछिल्लो समय राष्ट्रिय अनुसन्धान विभाग अर्थात गुप्तचर निकायभित्रको गोपनियता र सूचनाको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ । गुप्तचर निकायभित्रको हरेक गतिविधि वा सूचनाहरु सार्वजनिक हुने गरेको पाइएको छ ।
यसरी गुप्तचरको गतिविधिदेखि महत्वपूर्ण सूचनाहरु सार्वजनिक गर्नेमा विभागकै एकजना एसपी रहेका छन् । जबकी सेवाअवधीमा मात्र होइन, सेवानिवृत्त भएपछि पनि गुप्तचरको सूचना अत्यन्त गोप्य राख्नुपर्ने कानुनी व्यवस्था छ ।
विभागका एसपी शेरजंगबहादुर चन्दले विभागभित्रको गतिविधिहरु बाहिर ल्याउने काम गरिरहेका छन् । शुक्रबार मात्रै नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट विभागको प्रधान कार्यालय अवलोकन भ्रमण गरेका थिए ।

जुनकुरा एसपी चन्दले आफैंले सामाजिक सञ्जाल फेसबुकमा राखेर जानकारी दिएका छन् । त्यतिमात्र नभएर उनले तालिम प्रमुख महासेनानीसहित प्रशिक्षक प्रमुख सेनानीद्वय हाम्रो प्रधान कार्यालयमा तालिम शाखा प्रमुखको हैसियतले स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
जबकी चन्दा गुप्तचर निकायको तालिम शाखा प्रमुख रहेको विभागका मान्छेबाहेक बाहिरकालाई कमै थाहा थियो । अझ धेरैभन्दा धेरै जनाहरुमा उक्त पोष्ट पुगोस् भनेर उक्त पोष्टलाई बुष्ट समेत गरेको पाइएको छ । गुप्तचरको तालिम कोसँग कहाँ भन्ने अब तालिम शाखाका प्रमुखले फेसबुकमा राख्दा गुप्तचर के होला ? यसले प्रश्न उब्जाएको छ ।
यसरी पछिल्लो समय विभागमा एसपी चन्दले खुलेआम रुपमा सूचना लिक गर्दा पनि विभागको नेतृत्व हुतराज थापा मौन बसेका छन् । चन्दले आफ्नै नाममा विभिन्न अनलाइन प्लेटफर्म, ब्लग, सामाजिक सञ्जाल र भिडिओमार्फत पनि विभागका गोप्य तथा महत्वपूर्ण सूचनाहरु सार्वजनिक गर्ने गरेका छन् ।
यसरी गुप्तचरको गोपनियतामाथि खेल्ने चन्दको गतिविधिहरुविरुद्ध विभाग प्रमुख थापा राम्रोसँगथ जानकार छन् । यसरी विभागकै सूचना लिक गर्नु राम्रो संकेत होइन । जसले भविष्यमा ठूलो असर गर्नसक्छ ।
यसरी विभागको अत्यन्त संवेदनशील सूचना सामाजिक सञ्जाल, मिडिया र अनलाइनमा आउन थालेपछि विभागको प्रतिष्ठा धुमिल बन्दै गएको चर्चा हुन थालेको छ ।
