काठमाडौं । जापानमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन अब अझै सहज, छिटो र सुरक्षित माध्यम पाउने भएका छन् । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफर र जापानस्थित प्रतिष्ठित रेमिट्यान्स सेवा प्रदायक येहेई रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी महत्वपूर्ण सम्झौता भएको हो ।
मंगलबार आयोजित एक कार्यक्रममा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र येहेई रेमिटका प्रबन्ध निर्देशक नविन निउरेले सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सहकार्यले जापानबाट नेपालमा रेमिट्यान्स पठाउने प्रक्रियालाई थप सुलभ र प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ ।
अब जापानमा बसोबास तथा रोजगारीमा संलग्न लाखौं नेपालीले येहेई रेमिटको प्रयोगकर्ता-मैत्री मोबाइल एपमार्फत केही मिनेटमै नेपालमा रहेका आफ्ना परिवारजन तथा आफन्तलाई पैसा पठाउन सक्नेछन् । यसरी जापानबाट पठाइएको रकम नेपालमा रहेका प्राप्तकर्ताहरूले ईसेवा मनि ट्रान्सफरको वृहत सञ्जालमार्फत सहजै प्राप्त गर्न सक्नेछन् ।

प्राप्तकर्ताले देशभर रहेका १३ हजार ८ सयभन्दा बढी भुक्तानी केन्द्रहरू, प्रमुख बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरू र इसेवा वालेटका १ लाखभन्दा बढी क्यास प्वाइन्ट नेटवर्कबाट तुरुन्तै रकम निकाल्न वा सिधै आफ्नो इसेवा वालेटमा प्राप्त गर्न सक्नेछन् ।
ईसेवा मनि ट्रान्सफर नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त, एफवान सफ्ट ग्रुपअन्तर्गतको एक प्रतिष्ठित कम्पनी हो, जसले परम्परागत र डिजिटल दुवै माध्यमबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।
उता, सन् २००७ मा स्थापित येहेई रेमिट जापानको कान्टो लोकल फाइनान्स ब्यूरोबाट इजाजत प्राप्त एक भरपर्दो कम्पनी हो, जसले जापानबाट छिटो र सुरक्षित मोबाइल रेमिट्यान्स सेवा प्रदान गरेर ख्याति कमाएको छ ।
