काठमाडौं । पछिल्लो समय दैनिकरुपमा ईभी गाडीको दुर्घटना भएको खबर आइरहन्छ । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरूमा ईभी गाडीको दुर्घटनाको खबर आइरहँदा ईभी गाडीमै समस्या हो कि भन्ने सवाल पनि आइरहेका छन् ।
दुर्घटना त पहिले पनि हुन्थे र अहिले पनि भइरहेका छन् । दुर्घटना हुँदा मानवीय क्षति पहिलो समाचार र विषय बन्ने भएकाले अन्य सवारी दुर्घटना भन्दा मानवीय क्षति भएको सवारी दुर्घटनाको समाचार बढी बन्ने गर्छ ।
किनभने मानवीय क्षति वा घाइते नै पहिलो प्राथमिकता हुन्छ जसका कारण यात्रुवाहक सवारीसाधनको दुर्घटना नै अन्य सवारी दुर्घटनाभन्दा बढी चासो र चिन्ताको विषय बन्छ ।
पछिल्लो समय भएका दुर्घटनाहरूमा पनि यात्रुवाहक सवारीसाधनकै विषय बाहिर आउने गरेको छ । तर पछिल्लो समय दुर्घटनामा परेका सवारीसाधनमध्ये पनि ईभी अर्थात् इलेक्ट्रिक भेइकलको चर्चा र विषय बढी हुने गरेको छ ।
दुर्घटना हुँदा यात्रुवाहक सवारीसाधन दुर्घटना भन्दा पनि ईभी दुर्घटना वा ईभीका कारण दुर्घटना भन्दै सामाजिक सञ्जालमा पोस्ट र स्पन्सरमा बुस्टिङ समेत हुने गरेको छ । तर के साँच्चै नेपालमा भएका अधिकांश दुर्घटनाहरू ईभी अर्थात् इलेक्ट्रिक भेइकल कै छन् त ? अनि के ईभी कै कारण दुर्घटना भएका हुन् कि मानवीय गल्तीका कारण दुर्घटना भएका छन् त ?
पहिले केही ईभी दुर्घटनाको चिरफार गरौँ ।
दुर्घटना १ : चितवन दुर्घटना, ७ जनाको मृत्यु
गत असारको ७ गते चितवनको रत्ननगर नगरपालिका ४ डडुवा भन्ने स्थानमा ईभी भ्यान र यात्रुवाहक बस एकापसमा ठोक्किँदा ईभीमा सवार ७ जनाले ज्यान गुमाए ।
असार ७ गते शनिवार बिहान सवा १० बजे हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको ईभी भ्यान र धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस आपसमा ठक्कर खाँदा यस्तो गम्भीर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुने सबै ईभी भ्यानमा सवार यात्रुहरू थिए भने ईभी भ्यान चालकको त घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार ईभी भ्यान र यात्रुवाहक बस दुर्घटना हुँदा दुवै सवारीसाधनको गति अत्यधिक रहेको थियो । हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ईभी भ्यान र धनगढीबाट काकडभित्तातर्फ गइरहेको दुवै बसको गति त्यति बेला करिब ८० किलोमिटर प्रतिघण्टाको दरमा रहेको थियो ।
दुर्घटनालाई आफ्नै आँखा अगाडि देखेका प्रत्यक्षदर्शी कुमार थपलियाका अनुसार ईभी माइक्रोले तीन वटा ट्रकलाई एकै पटक ओभरटेक गर्न खोज्दा दुर्घटना भएको थियो भने धनगढीबाट काकडभित्ता जान लागेको बसले पनि अगाडि रहेको बसलाई ओभरटेक गर्दा दुर्घटना भएको हो । यद्यपि दुर्घटनाको क्षति भने सानो गाडी भएकाले ईभी भ्यानले मात्रै ब्यहोर्नुपर्यो ।
नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उक्त क्षेत्रमा अधिकतम ५० किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन चलाउन पाइन्छ । तर त्यहाँ औसतमा नै ६० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी कुद्छन् भने दुर्घटना हुँदा करिब ८० किलोमिटर प्रतिघण्टाको रफ्तार थियो ।
तीव्र गति नै दुर्घटनाको मुख्य कारण : प्रत्यक्षदर्शी थपलिया
जुन स्थानमा दुर्घटना भएको थियो, सोही स्थानमा रहेको अर्को बसमा यात्रा गर्दै थिए, कुमार थपलिया । पेसाले थपलिया पनि सवारीचालक नै हुन् र उनी नारायणगढ क्षेत्रमा म्याजिक भ्यान चलाउँछन् । उक्त दिन उनी काम विशेषले नारायणगढबाट हेटौंडा जाँदै थिए र उनी बसको अगाडिको भागमा थिए ।
उनी चढेको बस अगाडि बढ्दै गर्दा हेटौंडाबाट नारायणगढतर्फ आइरहेको ईभी भ्यान आफूभन्दा अगाडि रहेको तीन वटा ट्रकलाई एकै पटक ओभरटेक गर्न तीव्र गतिमा आइरहेको थियो । दुई वटा ट्रकलाई ओभरटेक गरी तेस्रो ट्रकको नजिक पुग्न लागेपछि उनी चढेको बसले ब्रेक लगाएर ईभी भ्यानलाई अगाडि जान दिन खोज्यो ।
थपलिया चढेको बस करिब ४० किलोमिटर प्रतिघण्टा जतिको रफ्तारमा हुँदा उनी भन्दा पछाडि रहेको मितेरी यातायातको बसले थपलिया चढेको बसलाई ओभरटेक ग¥यो । धनगढीबाट काकडभित्तातर्फ जाँदै गरेको उक्त बसको गति करिब ८० किलोमिटर प्रतिघण्टाको रफ्तारमा रहेको थपलियाले बताए ।
अगाडि रहेको बसलाई ओभरटेक गरेर मितेरी यातायातको बस आफ्नो लेनमा आइसकेको थियो । तर तीन वटा ट्रकलाई ओभरटेक गर्न खोजेको ईभी भ्यानले दुई वटा ट्रकलाई ओभरटेक गरेको भए पनि एउटा ट्रकलाई ओभरटेक गर्न सकेको थिएन । अनि अगाडि रहेको ट्रकले पनि ईभी भ्यानलाई साइड दिइरहेको थिएन ।
दुवै सवारीको गति अत्यधिक धेरै रहेको तथा सवारी चालकले अर्को सवारी देखेका थिएनन् । जसका कारण दुवैले एक्कासि ओभरटेक गर्दा यो गम्भीर दुर्घटना हुन पुग्यो ।
यसरी तीव्र गति र चालकका लापरबाहीका कारण ईभीमा सवार ७ जनाले ज्यान गुमाए ।
दुर्घटना २ : चितवनकै सत्रकिलोमा दुर्घटना ५ जनाको मृत्यु
गत असारको ७ गते मात्रै होइन, २०८१ कात्तिक २३ गते पनि चितवनमै अर्को भयानक दुर्घटना भयो जहाँ ईभी माइक्रोमा रहेका ५ जनाले ज्यान गुमाए । काकडभित्ताबाट नारायणगढ हुँदा काठमाडौं आउँदै गरेको यात्रुवाहक बसमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ईभी भ्यान ठोक्किँदा ५ जनाले ज्यान गुमाए ।
राती (बिहान) ३ बजेको समयमा काठमाडौंतर्फ आउँदै गरेको बसमा चितवनको भरतपुर महानगरपालिका वडा नबर २९ सत्रकिलो भन्ने स्थानमा पुग्दा विपरीत दिशामा पुगेर गुडिरहेको बसमा ईभी भ्यान ठोक्किएको थियो । नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ज ०२९८ नम्बरको ईभी माइक्रो ठोक्किएको थियो ।
यस दुर्घटनामा बस आफ्नै लेनमा रहेको, गति पनि औसतमै रहेको पाइएको थियो भने ईभी माइक्रो भ्यान भने विपरीत लेनमा पुगेको र अत्यधिक गतिमा रहेको पाइएको थियो ।
रातको समय भएकाले चालक निदाएका थिए कि भन्ने अनुमान समेत गरिएको छ, यद्यपि ईभी चालककै लापरबाही नै प्रमुख कारण देखिएको चितवन ट्राफिकले जनाएको थियो ।
दुर्घटना ३ : पोखराको लामेआहालमा ईभी दुर्घटना, ३ जनाको मृत्यु
२०८२ वैशाखको ३१ गते पोखराको लामेआहालमा ईभी माइक्रो बस दुर्घटना भयो, जहाँ ३ जनाले ज्यान गुमाए ।
