काठमाडौँ । अनमोल केसीको नयाँ फिल्म ‘बाटुलो जुन’को सुरु भएको छ । धादिङको काउलेबाट फिल्मको छायांकन सुरु भएको हो ।
पहिलो चरणमा केही दिन मात्र फिल्मको छायांकन हुनेछ । बाँकी छायांकन भने भदौमा गर्ने तयारी निर्माण पक्षको छ ।
फिल्मको छायांकन सुरु भएसँगै यसको निर्माण पक्षले फिल्मका नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडाको फर्स्ट लुक्स पनि सार्वजनिक गरेको छ ।
सार्वजनिक लुक्समा अनमोल दाह्री पालेर प्रिन्सीसँग केही हेरेर टोलाएको देख्न सकिन्छ ।
जिया केसीको लगानीमा बन्ने फिल्मको बजे २५ लाख बताइएको छ । अङ्गुर खेतीमा फिल्म खिच्नुपर्ने भएकाले केही दिनका लागि यसको टिम धादिङको काउले पुगेको हो ।
फिल्मका अरू को–को कलाकार रहने हुन् भन्ने केही पनि खुलेको छैन । फिल्मका निर्देशक भुवन केसी हुन् ।
निर्देशक केसीले दर्शकले अनमोललाई यसअघि नदेखेको अवतारमा फिल्ममा देख्न पाउने र यो विशेष हुने बताए ।
अनमोल अभिनीत फिल्म ‘जेरीस् अन टप’ असोजको ३१ गतेबाट रिलिजमा आउँदै छ । उनले फिल्म ‘ए मेरो हजुर ५’ पनि साइन गरिसकेका छन् ।