वीरगञ्ज । संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नबिल बैंक लिमिटेडले वीरगञ्ज महानगरपालिका- ४ स्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालयलाई १० थान विद्युत पंखा हस्तान्तरण गरेको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि कक्षा कोठामा सहज, स्वच्छ र प्रभावकारी शिक्षण वातावरण निर्माण गर्न सहयोग पुग्ने उद्देश्यले प्रदान गरिएका यी पंखाहरू विद्यालयका उप–प्रधानाध्यापक श्री बिनोद कुमार स्वर्णकारलाई नबिल बैंकका मधेश प्रदेश प्रमुख श्री सुलभ कुमार श्रेष्ठले एक औपचारिक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका-४ का वडा अध्यक्ष श्री जगत साह कानु प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए। साथै, नबिल बैंकको तर्फबाट श्री सन्तोष साह (इन्चार्ज – ऋण असुली विभाग, मधेश प्रदेश), श्री सञ्जीव पाण्डे (मधेश प्रदेश क्लस्टर कार्यालय), र श्री विशेष दैबग्य (शाखा प्रबन्धक – नबिल बैंक लिमिटेड, वीरगञ्ज शाखा) को उपस्थिति रहेको थियो।
विद्यालय प्रशासनले नबिल बैंकको यस सहयोगलाई अत्यन्त सराहनीय ठहर गर्दै बैंकप्रति आभार व्यक्त गरेको छ। नबिल बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा वित्तीय पहुँच विस्तारमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
नबिल बैंकको संक्षिप्त परिचय
सन् १९८४ मा स्थापना भएको नबिल बैंक लिमिटेड नेपालकै अग्रणी निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले खुद्रा, SME, कर्पोरेट, सरकारी तथा गैर–सरकारी संस्था र अन्तर्राष्ट्रिय निकायहरूलाई लक्षित गर्दै सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
देशभर रहेका २६८ शाखा, ३१७ एटीएम, २०,००० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा सब–एजेन्टहरू, र अनेकों POS टर्मिनलहरू मार्फत सेवा दिइरहेको बैंकले २०० भन्दा बढी अन्तर्राष्ट्रिय बैंकहरूसँग सहकार्य गर्दै आएको छ। यसका लगानी सेवाहरू नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड मार्फत प्रदान गरिन्छ।
नबिल बैंकको लक्ष्य सबै हितधारकहरूको पहिलो रोजाइको बैंक बन्नु हो।
