बारा । ईलाका प्रहरी कार्यालय सिमरा बारामा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी)शुभद्रा वाइवालाई जिम्मेवारीबाट हटाएको छ । वाइवा जिम्मेवारी सम्हालेको पाँच महिनामै विवादमा आएपछि उनको जिम्मेवारी खोसिएको हो ।
उनको ठाउँमा अर्का डीएसपी वेद जोशीलाई पठाइएको छ । वाइवा गत पुसमा त्यहाँ सरुवा भएकी हुन् । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार केही विषयमा छानबिन गर्नुपर्ने कारण उनलाई प्रधान कार्यालय झिकाइएको हो ।
जिल्ला प्रहरी कार्यालय, कलैयाका एसपी सन्तोष तामाङले पनि केही सोधपुछका निम्ति उनलाई प्रधान कार्यालयले बोलाएको पुष्टि गरे ।
जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंसँग तेलको कुपनमा विवाद भएपछि उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो ।
सोही विषयमा छानबिनका लागि उनलाई काठमाडौंबाट बोलाहट भएको हो । उनले आफ्नो निर्दोषिता प्रमाणित गरेमा पुनः जिम्मेवारीमा फर्काइने प्रहरी स्रोतले जनायो ।
के थियो विवाद ?
इलाका प्रहरी कार्यालयको ड्युटीमा परिचालित हुने सवारी साधनका निम्ति उनले उपमहानगरपालिकाबाट सय लिटरका दरले ४० दिनभित्र तीन पटक डिजल र पेट्रोलको कुपन लिएकी थिइन् ।
१८ गते २० लिटर डिजल र १० लिटर पेट्रोलको कुपन दिइएपछि प्रशासकीय अधिकृत प्रसाईँकै अगाडि डीएसपी वाइवाले कुपन च्यातेकी थिइन् ।
उनले वैशाख १० र ३१ गते सय लिटरका दरले उपमहानगरबाट कुपन लिएकी थिइन् । जबकि उपमहानगरले महिनामा सय लिटर इन्धन मात्रै दिने गरेको थियो । जेठ १८ मा थोरैको कुपन दिएकी भनी वाइवाले विवाद गरेकी थिइन् ।
डीएसपीले ज्यादती गरेको भन्दै उपमहानगरपालिकाले बाराका सीडीओ वसन्त अधिकारीलाई लिखित जानकारी गराएको थियो । सोही आधारमा प्रहरी प्रधान कार्यालयले छानबिन गरेको हो ।
डीएसपी वाइवा सिमरावासीबीच प्रशंसनीय प्रहरीकार्यका कारण चर्चामा थिइन् । उनले जेठ पहिलो साता शान्ति टोलस्थित खेल मैदानमा आयोजित व्यापार तथा सांस्कृतिक महोत्सवमा तोकिएको समयसीमा उल्लंघन भएपछि हस्तक्षेप गरेकी थिइन् ।
प्रशासनले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र कार्यक्रम सञ्चालनको अनुमति दिएको थियो । तर, आयोजकले राति ९ बजेसम्म टिकट बेचिरहेका थिए । राति भोजपुरी गायक सुनिल पण्डितले गीत गाइरहँदा डीएसपी वाइबा आफैँ स्टेजमा पुगेर माइक खोस्दै साउण्ड सिस्टमको तारसमेत झिकिदिएकी थिइन् ।
यो घटनाबाट उनी स्थानीयवासीबीच प्रशंसित थिइन् ।
