काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले वतर्मान सरकारले ल्याएको बजेट अहिलेसम्मकै उत्कृष्ट र क्रान्तिकारी रहेको बताएका छन् ।
शनिबार बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सिमाना जोडिएका पालिकासँगको सहकार्य र संयुक्त अभ्यास सम्बन्धी अन्तर्क्रियात्मक गोष्ठीमा बोल्दै नेता खाँणले नेपालमा पहिलो बजेट ल्याउने सुवर्ण शमशेरपछि अहिलेका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट सबैभन्दा राम्रो रहेको दाबी गरे ।
‘बजेटले नेपालको वस्तुस्थितिलाई सहज रूपमा लिएको छ’, नेता खाँणले भने, ‘उत्कृष्ट बजेट ल्याएकोप्रति अर्थमन्त्री विष्णु पौडेलप्रति विशेष धन्यवाद दिन चाहन्छु । बजेटले मुलुकको विद्यमान आर्थिक चुनौतीबीच सुधारको संकेत दिएको छ । बजेट यथार्थमा आधारित रहेको छ ।’
यथार्थ धरातलमा टेकेर आएको बजेट कार्यान्वयनमा कुनै समस्या नहुने नेता खाँणको धारणा छ । नेपालमा पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै त्यसका लागि सबैलाई पर्यटनमैत्री वातावरण बनाउन आवश्यक रहेको उनले बताए ।
भारतीय पर्यटकलाई नेपाल प्रहरीले अनेक सास्ती, झन्झट र चेकिङले हैरानी दिने गरेको भन्दै त्यसलाई सुधार गर्न संघ र प्रदेश सरकारसँग आग्रह गरे ।
