काठमाडौं । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट यथार्थपरक ल्याएका दाबी गरेका छन् ।
अर्थमन्त्री पौडेलले भने, ‘यो बजेट आम्दानी र खर्चको यथार्थपरक रहेको छ । आम्दानी र खर्च दुवैको प्रश्नमा यो बजेट यथार्थपरक छ ।’
यस्तै, यस पटक बजेटको आकारको विषयमा त्यति टिप्पणी नभएको अर्थमन्त्रीले बताए ।
बिहीबार अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए । बजेट चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ ।
सरकारले ल्याएको बजेटका लागि राजस्व, अनुदान र ऋणबाट स्रोत जुटाइने भनिएको छ ।
