काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेत पत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकारसम्मेलनको आयोजना गर्दै निर्देशक हितेन्द्रदेव शाक्यले श्वेत पत्र सार्वजनिक गरेका हुन् ।
श्वेत पत्र सार्वजनिक गर्दै उनले हालसम्म प्राधिकरण हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको उल्लेख गरे । उनले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको जानकारी गराएका हुन् ।
उनले भने, ‘आ.व. २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आ.व.को फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिन्छ ।’
त्यस्तै आ.व.२०८०र८१ मा देखाएको नाफा नोक्सान हिसाबमा थप समायोजन गरी नाफा नोक्सान कायम गर्नुपर्ने देखिएको उनको भनाइ छ ।
‘यसर्थ महालेखाको प्रतिवेदन अनुसार लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका बुँदाहरु मध्ये संस्थाले ७ अर्ब १९ करोड खर्च नलेखेको र ४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढि लेखाङ्कन गरेको तथा २९.९१ करोड आम्दानी नबाँधेको देखिन्छ । समग्रमा आ.व. २०८०/८१ मा देखाएको नाफा नोक्सान हिसाबमा थप समायोजन गरी नाफा नोक्सान कायम गर्नुपर्ने देखिन्छ । यसमा संभावित दायित्व समेत वापत हुन आउने नोक्सानी संलग्न छैन,’ उनले भने ।
नेपाल सरकारको प्राधिकरणमा शेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड, संचित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडातर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड रहेको पनि उनले जानकारी गराए ।
उनले १४ अर्ब १० करोड बराबरको रकम शोधभर्ना प्राप्त गर्न बाँकी छ रहेको भन्दै जुन विगतका वर्षदेखि बाँकी रही आएको भएतापनि नेपाल सरकारबाट प्राप्त हुन नसकेको बताए ।
उनका अनुसार २०८१ असार मसान्तसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोडसहित २०८१ फागुनसम्म प्राधिकरणको जम्मा बक्यौता ४४ अर्ब ५४ करोड रहेको छ ।
