काठमाडौं, १२ वैशाख – ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा पाथिभरा मन्दिर जाँदै गरेको बोलेरो गाडी विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा चारजनाको ज्यान गएको दुःखद दुर्घटनापछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निर्देशनमा मन्त्रालयले चार सदस्यीय छानबिन समिति गठन गरेको छ।
ऊर्जा मन्त्रालयले उक्त समितिको संयोजकमा नेपाल विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्मालाई नियुक्त गरेको छ। समितिमा मन्त्रालयका दुईजना प्रतिनिधि र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एकजना प्रतिनिधि सदस्यको रुपमा रहने छन्।
वैशाख ८ गते फुङ्लिङ सदरमुकामबाट प्रसिद्ध धार्मिक स्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो (ना.१.ज. ३०११) गाडी सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा चारजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए।
घटनापछि गम्भीर चासो व्यक्त गर्दै मन्त्री खड्काले तत्काल यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए। समितिलाई दुर्घटना कसरी, किन, र के कारणले भयो भन्ने विषयमा विस्तृत विवरण संकलन गरी प्रतिवेदन तयार पार्नका साथै यस्ता दुर्घटना भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरू सुझावस्वरूप पेश गर्न निर्देशन दिइएको छ ।
ऊर्जा मन्त्रालयका अनुसार छानबिन समिति हालसम्म सम्बन्धित पक्षहरूसँग सम्पर्क, अध्ययन तथा स्थलगत निरीक्षणमार्फत काम अघि बढाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Facebook Comments Box
