काठमाडौं । हरेक विवाहिता महिलाले आफ्नो सिउँदोमा सिन्दुर लगाउने हिन्दू परम्परा र मान्यता हो । महिला विवाहित कि अविवाहित भन्ने छुट्याउने पहिचान पनि हो सिन्दुर । सिन्दुरलाई महिलाले सौभाग्यको प्रतीकको रुपमा आफ्नो टाउकोमा धारण गर्ने गर्दछन् ।
कपाललाई दुई तिर फर्काएर सिउँदो बनाएर आफ्नो पतिको सौभाग्य र सम्मानको रुपमा सिन्दुर हरेक विवाहित महिलाले लगाउनै पर्ने बाध्यता जस्तै छ हिन्दू संस्कारमा । आउनुहोस् जानी राखौ महिलाले किन लगाउँछन् त सिउँदोमा सिन्दुर ?
विवाहित महिला सिउँदोमा सिन्दुर लगाउँदा आफूलाई गौरवान्वित ठान्दछन् । महिलाले सिउँदोमा लगाउने सिन्दुर उनीहरुको सधैँ सौभाग्य बनाइ राख्ने मान्यता छ । हिन्दू एक प्राचीन मान्यता अनुसार देवी पार्वतीले आफ्नो पति महादेवको सम्मानको खातिर आफ्नो जीवन आहुती दिएकि थिइन् ।
जसले गर्दा सिन्दुर देवी पार्वतीको प्रतीक मानिन्छ । यसैले भनिन्छ जो महिला आफ्नो सिँउदोमा सिन्दुर लगाउँछिन् देवी पार्वतीको हात उसको शीरमा सँधैभरी रहन्छ र देवी पार्वती हरेक समय उनको पतिको रक्षा गर्छिन् ।
ज्योतिषशास्त्रका अनुसार मेष राशिको स्थान शीरमा हुन्छ । मङ्गल मेष राशिको स्वामी ग्रह हो किनकी मङ्गल ग्रहको रङ रातो हुन्छ । रातो रङलाई शुभ मानिन्छ । साथै यसलाई सौभाग्यको सङ्केतको रुपमा पनि मानिन्छ । यसैले सिन्दुर शीरमा लगाउनु अत्यन्तै शुभ हुन्छ ।
सिन्दुर शीरको मध्य भागमा लगाइन्छ । टाउकोको बीचमा बनाइने सिउँदोको विन्दुलाई महत्वपूर्ण एवम् संवेदनशील मानिन्छ । यो रेखा वा सिउँदोमा सिन्दुर लगाउँदा दिमाग सधैँ सर्तक तथा सक्रिय रहन्छ । यसैगरी सिन्दुरमा मरकरी धातु पाइन्छ ।
यो यस्तो एक्लो धातु हो जसलाई तरल रुपमा पनि पाइन्छ । यसैकारणले सिउँदोमा सिन्दुर लगाउँदा दिमागमा शितलता मिल्ने तथा तानावमुक्त रहन सकिने वैज्ञानिक कारण छ ।
विवाहपछि नै किन लगाइन्छ त सिन्दुर ?
सिन्दुर विवाह पछिमात्रै लगाउने हिन्दू परम्परा र मान्यता हो । अर्थात् अविवाहित महिलाले सिन्दुर लगाउने प्रचलन छैन किन भने विवाहपछि महिलामा तनाव, समस्या र जिम्मेवारी सयौँ गुणा बढ्दछ । यसैले महिलाको दिमाग शान्त राख्न र व्यवस्थित राख्न अत्यन्तै जरुरी भएकोले सिन्दुर लगाउने प्रथा नै बनेको पाइन्छ ।
हिन्दू मान्यता अनुसार बाङ्गो सिउँदो काढ्नु हुँदैन, सिन्दुर छरेर लगाउनु हुँदैन, सिउँदो जसले सिधा काढ्न जान्दछ त्यो राम्रो भन्ने जस्ता मान्यतालाई पनि माथिको वैज्ञानिक कारणले पनि पुष्टि गर्दछ । स्रोतः भाष्कर
