काठमाडौं । विवादित व्यवसायी अजयराज सुमार्गीले सरकारलाई कर तिर्न अटेर गरेको पाइएको छ । उनको स्वामित्वमा रहेको मुक्ति श्री प्रा.लि.ले २० करोड ३५ लाख रुपैयाँभन्दा बढी कर बुझाउन बाँकी रहेको पाइएको हो ।
लामो समयदेखि बक्यौता कर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले आउँदो १५ दिनभित्र कर बुझाउन सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा.लि.लाई समय दिएको छ ।
समय सिमासम्म कर नबुझाए बैंक खाता र घरजग्गा रोक्का गरी लिलामी प्रक्रिया अघि बढाउने चेतावनी राजस्व कार्यालयले दिएको छ । यस्तै मुलुकबाहिर जानसमेत रोक्ने कार्यालयले तयारी गरेको छ ।
त्यस्तै नवीकरण शुल्क बुझाउन नसकेपछि सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटलाइट टेलिकम कम्पनीको लाइसेन्स सरकारले खारेज गरेको छ । उनले हेलो नेपाल ब्रान्डबाट सीमित मोबाइल सेवा सुरु गरेका थिए ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’निकटमा रहेर चर्चा बटुलेका व्यवसायी सुमार्गी अहिले गुमनाम छन् ।