काठमाडौं । कमलादीमा स्काईवार्क टावर सञ्चालन गर्दै आएको वोन्डर्स नेपाल प्रा.लिले सर्बसाधारणलाई सेयर बिक्री गर्ने भएको छ ।
सर्बसाधारणलाई सेयर बेच्न कम्पनीको प्रा.लि संरचना परिवर्तन गरी लिमिटेड संरचनामा लैजाने निर्णय पनि कम्पनीले गरेको छ ।शुक्रबार सम्पन्न सातौ बार्षिक साधारण सभाबाट कम्पनीलाई पब्लिक लिमिटेड बनाउने र सर्वसाधारणलाई सेयर बिक्री गर्ने निर्णय भएको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यद्यपी कम्पनीका संस्थापक सञ्चालक समितिका सदस्य लोकनाथ अधिकारीले कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने सोचेर प्रस्ताव मात्र गरिएको बताए । ‘सेयर निष्काशनका लागि धेरै कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाउनुपर्छ । त्यसको लागि लामो समय लाग्छ’ उनले भने ।
पछिल्लो समय घाटामा गएका कम्पनीहरुले सेयर सर्बसाधारणमा जारी गर्ने र सस्थापकहरूले सेयर बेचेर कम्पनी छोड्ने प्रवृति बढ्दै गएको छ । तर स्काईवाक कम्पनी नाफामा रहेको संस्थापक अधिकारीले दावी गरे ।
‘शुक्रबार सम्पन्न साधारणसभाले सेयरधनीलाई लाभांश दिने निर्णय गरेको छ । हामी नोक्सानमा छैनौं,’ उनले भने । साधारणसभाले कम्पनीको आयव्यव पास गरेको जनाएको छ तर वित्तीय विवरण सार्वजनिक गरिएको छैन ।
‘वोन्डर्स नेपाल प्रा.लि हो । हाम्रो आयव्यव सार्वजनिक गर्नु पर्दैन । कर कार्यालय, कम्पनी, कार्यालय लगायत सरकारी अफिसमा आयव्यव बुझाएका छौं । कम्पनीले राम्रो व्यापार गरिरहेको छ’ उनले भने ।
धरहरा सञ्चालनपछि स्काईवाक टावरमा मानिसहरु चढ्न छोडेको र व्यापार हुन नसकेपछि सेयर बेच्ने निर्णयमा कम्पनी पुगेको विश्लेषण व्यवसायिक जगतमा हुन थालेको छ ।