काठमाडौं । भारतीय गुप्चतर एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालिसिस विङ) का भूतपूर्व एजेन्ट लक्की विष्टले एक अन्तर्वार्तामा केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन् । नवभारत टाइम्ससँगको अन्तर्वार्तामा उनले नेपालमा सरकार पतिर्वन हुने दाबी गरेका छन् ।
नवभारत टाइम्सका पत्रकार विनित त्रिपाठीसँगको अन्तर्वार्तामा उनले एक महिनाभित्र नेपालमा सरकार परिवर्तन हुने दाबी गरेका छन् । ‘आज १२ तारिख हो । तपाईंलाई अचम्म लाग्ला, तपाईंले केही दिनपछि एउटा अर्को समाचार सुन्नुहुन्छ, नेपालको सरकार ढल्नेवाला छ,’ उनी अन्तर्वार्तामा दाबी गर्छन् ।
उनी पत्रकारलाई आफूले भनेको कुरा नोट गर्न पनि आग्रह गर्छन् । ‘तपाईं नोट गर्नुहोस्, तपाईंलाई निकै छिटो १० दिन, १५ दिनभित्र खबर आउँछ, नेपालको सरकार ढल्दै छ । जुन दुई महिना पहिले बनेको थियो ।’
यसपछि पत्रकार त्रिपाठी प्रश्न गर्छन्, ‘यसको पछाडि को छ ? एजेन्सी ।’
विष्टले अन्तर्वार्तामा विश्वभरमा हुने सबै घटनाको पछाडि गुप्तचर एजेन्सी हुने दाबी गर्छन् । श्रीलंका, पाकिस्तान र बंगलादेशको पछिल्लो घटनाक्रममा गुप्चतर एजेन्सीको हात रहेका उनी अन्तर्वार्तामा दाबी गर्छन् ।
त्रिपाठीसँगको अन्तर्वार्तामा उनी अगाडि भन्छन्, ‘म १२ तारिखमा यो भन्दै छु ,यो कुरा दुनियाँको कुनै न्युजपेपरमा आएको छैन, अहिलेसम्म । २०, १५, २५ दिन, एक महिनामा नेपालको सरकार ढल्दैछ ।’
विष्टले अन्तर्वार्तामा नेपाल विश्वभरका गुप्चतर एजेन्सीको खेल्ने ठाउँ भएको पनि दाबी गरेका छन् । ‘रअ’ एजेन्ट हुँदा नेपाल र बंगलादेशमा अपरेसन गरेको पनि उनले दाबी गरेका छन् । उनी अन्तर्वार्तामा भन्छन्, ‘मलाई सबैभन्दा नेपाल खतरनाक लाग्छ ।’
उनले नेपालमा विश्वभरका गुप्चतर एजेन्सी सक्रिय हुने र तिनको सहभागिता अत्यधिक हुने दाबी गरेका छन् । उनी भन्छन्, ‘नेपालमा जति मान्छे छन्, त्यसभन्दा बढी एजेन्ट छन् ।’
