नयाँ दिल्ली । भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धबारे पुनर्विचार गर्ने भएको छ । गहुँको पिठो निर्यातमा लगाएको शुल्क खारेज गरेको कयौं दिनपछि भारतले गैरबासमती चामलको निर्यातमा लगाएको सीमा खुकुलो बनाउनेबारे छलफल थालेको हो ।
ब्लुम्बर्ग न्यूजले बुधबार भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धबारे पुनर्विचार गर्न लागेको उल्लेख गरेको छ । भारत विश्वको सबैभन्दा ठूलो चामल निर्यातकर्ता हो ।
घरेलुस्तरमा मूल्य बढ्न थालेपछि एक वर्षभन्दा बढी समयदेखि त्यहाँको सरकारले विदेशी बजारमा चामलको विक्री सीमित बनाएको छ ।
अक्टोबरमा नयाँ धान काटिनु अघि देशभर मौज्दातमा रहेको धान सकाउन भारतले निर्यात प्रतिबन्ध खुकुलो बनाउने भनेर जुलाईमै ब्लुम्बर्ग न्यूजले समाचार छापेको थियो । यसपटक भारतमा कीर्तिमानीस्तरमा धान उत्पादन हुने अनुमान गरिएको छ ।
यस्तोमा घरेलु निर्यातकर्ताहरूले पनि सेतो चामलको निर्यातमा लगाएको रोक र उसिनेको चामलको निर्यातमा लगाएको २० प्रतिशत निर्यात महसुल हटाउन खोजिरहेका छन् । एजेन्सी
