काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले महिला भलिबल टोलीलाई शुभकामनासहित बिदाई गरेका छन् ।
आईजीपी कुँवरले माल्दिभ्समा हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामनासहित विदा गरेका हुन् ।
उक्त टोलीमा १२ जना खेलाडी र ४ जना अफिसियल रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कुँवरले खेलकुद नेपाल प्रहरीको ऐतिहासिक र अभिन्न अंगको रूपमा जोडिएको बताए ।
देशको खेलकुद विकासमा नेपाल प्रहरीले पुर्याएको योगदान उल्लेखनीय रहेको उनको भनाई छ । नेपाल प्रहरीका महिला खेलाडीहरूले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धीहरूले नेपाल प्रहरीमा सशक्त बनेको आईजीपी कुँवरले बताए ।
अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताले महिला खेलाडीहरूको क्षमतालाई पुष्टी गर्न थप अवसर प्रदान गर्ने आईजीपी कुँवरले बताए ।
आईजीपी कुँवरले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई देशकै प्रतिनिधित्व गरेको हुँदा उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देश र संगठनको गरिमा बढाउन सम्पूर्ण खेलाडीहरूलाई शुभकामना समेत दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
