काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक छन् प्रदीप अधिकारी । अधिकारी २०७८ माघ तेस्रो साता प्राधिकरणको महानिर्देशक नियुक्त भएका थिए । उनको कार्यकाल अझै डेढ वर्ष बाँकी छ ।
तर, गत बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उपस्थित सांसदहरुले उनै अधिकारीलाई क्यानको जिम्मेवारीबाट अलग गर्नुपर्ने भन्दै आवाज उठाए ।
बैठकमा उपस्थित भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले समेत मातहतका निकायलाई कारबाही गर्ने प्रश्नमा सरकार गम्भिरतापूर्वक लागि परेको बताउँदै आफूले गरेको निर्णय फेरि अदालतबाट बदर नहोस् भन्नका लागि सो निर्णय लिनुअघि आफूले कानूनी परामर्श अघि बढाएको प्रष्ट पारे ।
पर्यटनमन्त्री पाण्डेको भनाईको आशय प्रष्ट थियो कि, आफू महानिर्देशक अधिकारीलाई पदमुक्त गराउने विषयमा कानूनी परार्मशमा जुटेको छु । अधिकारीको कार्यकालमा ६ वटा हवाईजहाज र ३ वटा हेलिकोप्टर दुर्घटना भएपछि अधिकारीलाई पदमुक्त गर्ने आवाज उठेको हो ।
पछिल्लो समय दुई हप्ताको अन्तरालमा दुईवटा हवाई दुर्घटना भयो । साउन ९ गते सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन(एएमइ) कलसाइन विमान स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो ।
चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु हुनका साथै एक जना घाइते भएका थिए ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको दोस्रो दिन गत साउन १० गते संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्धन तथा पर्यटन समितिको बैठकमा समेत महानिर्देशक अधिकारीलाई सांसदहरुले र्याखर्याख्ती पारेका थिए ।
यसैगरी गत बुधबार एयर डाइनेस्टीको ९ एन(एजेडी दर्ता नम्बर रहेको हेलिकप्टर दुर्घटना भयो । हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भयो । जसले गर्दा हवाई क्षेत्र पूरै तरंगित भएको छ ।
शक्तिशाली महानिर्देशकलाई पदमुक्त गर्लान् ?
अधिकारी महानिर्देशक बन्दा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले थिए भने प्रधानमन्त्री शेरबहादुर देउवा थिए । आफैं प्रधानमन्त्री हुँदा नियुक्त भएका अधिकारीलाई पदबाट हटाउनुपर्ने विषयमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल समेत गरेका छन् ।
चर्चा जति तीव्र भएपनि अधिकारीलाई पदबाट हटाउन ‘फलामे च्युरा चपाउनु’ सरह हुने अधिकारीको पहुँचबारे जानकार स्रोतले जनायो । तर, प्रधानमन्त्री ओली अधिकारीको कामप्रति असन्तुष्टि जनाउँदै पदमुक्त गर्नुपर्ने पक्षमा रहेका छन् ।
सबै राजनीतिक दलका शीर्ष नेतृत्वलाई रिझाउन सक्ने कलाका सिद्धहस्त महानिर्देशक अधिकारीलाई जसरी पनि पदमुक्त गराउन सरकार लागिपरेको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ । ‘कार्यकाल बाँकी रहेपनि अधिकारीलाई पदमुक्त गर्नुपर्छ भन्ने पक्षमा छन् प्रधानमन्त्रीज्यू,’ स्रोत भन्छ ।
हुन त विगत ६ महिनादेखि अधिकारी पदमुक्त हुने चर्चा चल्दै आएको पनि हो । उनले विगतका सबै अड्कल र अनुमान फेल गराइदिए । तर, यसपटक अधिकारीलाई पदमुक्त गराउन प्रधानमन्त्री ओली आफैं सक्रिय भएका कारण योपटक उनको अनुमान फेल हुने सम्भावना छ ।
पछिल्लो समय लगालग दुई विमान दुर्घटनाबाट भएको धनजनको क्षतिबाट आक्रोशित सांसदहरूले मात्र नभएर पर्यटन क्षेत्रका विज्ञहरुले समेत महानिर्देशक अधिकारीको राजीनामा माग गरेका छन् । महानिर्देशक अधिकारीलाई हटाउने संकेत गरेपछि पर्यटन क्षेत्रमा समेत खुसीयाली छाएको छ ।
सिभिल इन्जिनियर रहेका अधिकारीको उडान सुरक्षा भन्दा पूर्वाधार विकासको नाममा ठेक्कापट्टामा बढी लगाव रहेको आरोप लाग्दै आएको छ । एक सय भन्दा बढी नागरिकले ज्यान गुमाउनु परेको उनको कार्यकालमा भएका दुर्घटनाबारे अधिकारी जिम्मेवारी लिनुको साटो मुखसम्म खोल्न चाहँदैनन् ।
