काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीति सेयर बजार र निर्माण क्षेत्रका लागि अपेक्षा गरेभन्दा लचिलो आएको छ । मौद्रिक नीतिमा बैंकर्स तथा विज्ञहरुले भने मिश्रित प्रतिक्रिया दिएका छन् ।
संस्थागत सेयर लगानीकर्ता तथा निर्माण व्यवसायीलाई राहत पुग्ने गरी आएको मौद्रिक नीतिले घरजग्गा व्यवसाय र बैंकमा थुप्रिएको रकम परिचालन गर्ने नीति नलिँदा अर्थतन्त्रमा आशातित सुधार हुन नसक्ने विज्ञहरुको टिप्पणी छ ।
मौद्रिक नीति बनाउन राष्ट्र बैंक स्वायत्त हुन्छ तर शुक्रबार सार्वजनिक नीतिमा व्यवसायीका माग मात्रै होइन राजनीतिक नेतृत्वले चाहेका कुरा पनि समावेश भएका छन् ।
राष्ट्र बैंकले व्यवसायीकै मागबमोजिम चालु पुँजी कर्जा मार्गदर्शन लागु गर्ने समय २०८२ साउन पुर्याएको छ । अर्थमन्त्री विष्णु पौडेलसमक्ष व्यवसायीले यही माग प्राथमिकताका साथ राखेका थिए र उनीहरुको मागको सु्नुवाइ भएको छ ।
गभर्नर अधिकारीले दुई वर्षअघिको मौद्रिक नीतिमार्फत सेयर कर्जामा सीमाको व्यवस्था गर्नुभएको थियो । तर, उहाँ आफैंले यसपटक संस्थागत लगानीकर्ताहरुका लागि २० करोडको सीमा घटाउनु् भएको छ । यसले सेयरबजारमा थप लगानी बढ्ने देखिन्छ । तर यहाँ प्रश्न के हो भने दुई वर्षअघिको आफ्नै नीतिमा गभर्नर कसरी यू-टर्न हुनुभयो ?
समग्रमा मौद्रिक नीति सेयरबजारप्रति लचक रहे पनि अर्थतन्त्र चलायमान बनाउने घरजग्गा व्यवसायप्रति मौन रहेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको भनाइ छ ।
