काठमाडौं । आईसीसी टी-२० विश्वकपको फाइनलमा अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पुगेको छ । विश्वकप क्रिकेटको इतिहासमा पहिलो पटक दक्षिण अफ्रिका फाइनलमा पुगेको हो ।
जारी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका आईसिसीको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको हो ।
वेस्ट इन्डिजस्थित ब्रायन लारा स्टेडियममा भएको सेमिफाइनल खेलमा अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले निर्धारित ओभरको ८. ५ ओभर खेल्दै जम्मा विकेटको क्षतिमा पूरा गर्यो ।
दक्षिण अफ्रिकालाई फाइनलमा पुर्याउन कप्तान ऐडन मार्करमले २३ रन बनाउँदा रिजा हेन्ड्रिक्सले सर्वाधिक २९ रनको पारी खेले । त्यसअघि ओपनर ब्याट्सम्यान क्वान्टिन डी कक ५ रनमा पभेलिएन फर्केका थिए । उनलाई अफगानिस्तानका फजलहक फारुकीले बोल्ड आउट गरेका थिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ओभरको ११.५ ओभर खेल्दै सबै विकेट गुमाएर ५६ रन मात्रै बनाउन सक्यो । पहिलोपटक सेमिफाइनलमा पुगेको अफगानिस्तानका कुनैपनि ब्याट्सम्यान दक्षिण अफ्रिकी बलरसमक्ष धेरै बेर टिक्न सकेनन् ।
जसका कारण अफगानिस्तान झिनो रनमै समेटियो ।
दक्षिण अफ्रिकाले अब फाइनलमा आजै हुने दोस्रो सेमिफाइनलका विजेता भारत वा इङ्ग्ल्यान्डसँग खेल्ने छ ।
