काठमाडौं । आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न एक नाबालकसहित ७ जनालाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।
काठमाडौं प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेका अनुसार प्रहरी जवान घिमिरेको हत्यामा संलग्नहरूलाई समात्न प्रहरीले हवाई फायर गरेको थियो । अष्टनारायण हल पछाडि जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरिएको एसएसपी रजौरे बताउँछन् ।
जिल्ला प्रहरी परिसर, टेकुमा आइतबार पत्रकार सम्मेलन गरेर रजौरेले भने, ‘विभिन्न भौतिक तथा प्राविधिक पक्षको विश्लेषणपछि घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जनालाई पक्राउ गर्न सफल भएका हौं ।
प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौंको बालाजु तार्केश्वर–९ मनमैजुस्थित एक घरमा शङ्कास्पद अवस्थामा फेला परेको थियो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको अनुसन्धानबाट ७ जना मिलेर घिमिरेको हत्या गरेको खुलेको हो ।

कसरी भयो हत्या ?
बिहीबार साँझ प्रहरी जवान घिमिरे आफ्नो ड्युटी सकेर डेरामा जाँदै थिए । सोही क्रममा नास्ता खानको लागि तार्केश्वर नगरपालिका ११स्थित एक खाजाघरमा प्रवेश गरे । जहाँ सचिन परियार र अन्जली श्रेष्ठ पनि खाजा खान पुग्छन् ।
प्रहरी जवान र सचिनको पुरानो चिनजान समेत रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरु तीनजना सँगै एउटै टेबलमा बसेर खाजा खाएको पाइएको छ । सोहीक्रममा जवान घिमिरे र परियारको विवाद सुरु भएको हो ।
‘त्यहीँबाट उनीहरूबीच विवाद सुरु भएको देखिन्छ । युवराजले अन्जलीलाई आँखा झिम्काएको सचिनले प्रहरीसमक्ष बयानमा भनेका छन् । त्यसपछि सचिनले अन्जलीलाई विसन्चो भयो भनेर माथिसम्म पुर्याइदिन घिमिरेलाई अनुरोध गरेका थिए । उनीहरु तीनैजना एउटै मोटरसाइकलमा घटनास्थलसम्म गएको पाइएको छ’, रजौरेले भने ।
त्यसपछि जवान घिमिरेलाई पहिलेदेखि नै त्यहाँ रहेका विपना, नुरमाया, बुद्ध, अमृत र नाबालकले अन्धाधुन्द इटा, रड, घिमिरेले लगाएको बेल्ट र ढुंगा प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । अनुहारमा गहिरो चोट लागेका घिमिरेको हत्यापछि शव ठाउँ परिवर्तन गरी घरभन्दा केही बाहिर छोपेर राखिदिए ।
त्यस्तै उनले लगाएको जुत्ता केहीपर लगेर जलाइदिए । घिमिरेसँग भएको पैसा लगेको हुनाले लुटपाट हुनसक्ने प्रहरीको अनुमान छ । घिमिरेको गोजीमा रहेको २ हजार रुपैयाँसमेत लिएर भागेका उनीहरू जरंखुतर्फ गएर सडकपेटीमा सोही रात बिताए ।
उनीहरुले अन्य केही सामान पनि छ कि भनेर घिमिरेको शरीर खानतलासी समेत गरेको पाइएको छ । अधिकृतहरुका अनुसार लुटपाटको उद्देश्यले मात्र घटना भएको भए यति विघ्न क्रुर तरिकाले हत्या गर्न जरुरी हुन्थेन । त्यसैले घटनामा रिसिइबी पनि कारण हुनसक्नेतर्फ पनि प्रहरीले अनुसन्धान गरिरहेको अधिकृतहरु बताउँछन् ।
प्रहरीले आवेसमा आएर उनीहरुले घिमिरेको हत्या गरेको बताए भने हत्याको मुख्य कारण भने युवराज र अञ्जलीलगायतसँगको लफडा पनि देखिएको छ । हत्याको मुख्य कारण युवतीसँगको लफडा रहनसक्ने प्रहरीको अनुमान छ ।
‘पुरानो रिसिबी हुन सक्नेतर्फ अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ । अन्जली श्रेष्ठ र सचिन परियार लिभिङ टुगेदरमा बस्दै आएका थिए । हत्याको पूर्वयोजना भने नदेखिएको प्रहरी बताउँछ ।
अनुसन्धानका क्रममा उनीहरु सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने गरेको खुलेको छ । पक्राउ परेका उनीहरु लागूऔषध प्रयोगकर्ता रहेको पनि खुलेको छ । उनीहरुले उक्त घरलाई लागूऔषधको अखडा बनाएका थिए ।
खाजा खाएको ठाउँबाट घटनास्थल ४ किलोमिटर पर रहेको छ ।
यो पनि पढ्नुहोस्…
लागूऔषध सेवनकर्तासँगको विवादपछि ट्राफिक प्रहरी जवानको हत्या
बर्दीमै रहेका प्रहरीको शंकास्पद मृत्यु असामान्य, अनुहार छियाछिया !
मृत भेटिएका दरबारमार्ग ट्राफिकमा कार्यरत जवानको युनिफर्म र जुत्ता जलाएको अवस्थामा भेटियो
मनमैजुमा ट्राफिक जवान घिमिरे मृत भेटिए, हत्याको आशंका
