काठमाडौं । शुक्रबार साँझतिर बालाजु तारकेश्वर नगरपालिका—९, मनमैजुस्थित एकान्तमा निर्माणधिन घरको तल दरबारमार्ग ट्राफिक प्रभागमा कार्यरत जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा भेटियो ।
घटनास्थलमा पुगेका एक प्रहरीकाअनुसार जवान घिमिरेको शरीरभर चोट थियो । अनुहार त झनै छियाछिया बनाएर रगताम्मे थियो । त्यतिमात्र नभएर उनले लगाएको युनिर्फम र जुत्ता अलिपर लगेर जलाइएको थियो ।
त्यसैले सहजै अनुमान गर्न सकिन्छ कि, घिमिरेको हत्या नै भएको हो । उनको हत्या कसले र किन गर्यो ? प्रहरी अनुसन्धानपछि खुल्ला । तर, २४ घण्टा बितिसक्दा पनि अनुसन्धानमा खटिएका प्रहरीले अहिलेसम्म केही क्लू नै पत्ता लगाउन सकेको छैन ।
बोराले ढाकेको अवस्थामा घिमिरेको शव भेटिएको हो । एक स्थानीयले निर्माणधिन घरको वरपर रगत देखेपछि नियाल्दै जाँदा शव पनि भेटेका हुन् । शव देखेपछि ती स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए ।
स्थानीय प्रहरी घटनास्थल पुगेर शवको पहिचान गर्ने क्रममा आफ्नै संगठनको सदस्य रहेको खुल्यो । त्यसपछि उक्त रिपोर्ट माथिल्लो निकायमा पुग्यो । त्यसपछि सिनियर प्रहरीको समेत घटनास्थलमा उपस्थिति रह्यो ।
तत्कालै जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरे र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई घटनास्थलमा पुगे । सँगै सिआईबीको एक टोली पनि घटनास्थलमा पुग्यो ।
घटनास्थल र शवको प्रकृति हेरेर फर्किएका उनीहरुले हालसम्म जवान घिमिरेको हत्या कसले गर्यो र हत्याको कारण पत्ता लगाउन सकेका छैनन् । त्यसैले बर्दीमै रहेका प्रहरीको शंकास्पद मृत्यु असामान्य रहेको छ ।
लागूऔषध पदार्थ सेवनकर्ताहरुले जवान घिमिरेको हत्या गरेको हुनसक्ने घटनास्थल पुगेका एक प्रहरीको भनाइ छ । ती प्रहरी भन्छन्, ‘घटनास्थलको प्रकृति हेर्दा लागूऔषध पदार्थ सेवन गर्नेहरु आउनेजाने गरेको छ । चुरोटका ठुटाहरु, अन्य लागूपदार्थ सेवन गर्ने औजारका सामानहरु पनि भेटिएको छ ।’
त्यसैले घटनास्थल हेर्दा शंकास्पद देखिन्छ । ‘घटनास्थलमा अत्याधिक रक्तश्राव देखिएको छ,’ घटनास्थल पुगेका ती प्रहरी भन्छन्, ‘घरको कोठाहरुमा रहेका इट्टाहरुमा समेत रगतको छिट्टाहरु देखिएको छ । यसले गर्दा हत्या भएको प्रशस्त ठाउँहरु भेटाउन सकिन्छ ।’
इट्टाले हानेर घिमिरेको हत्या गरेको हुनसक्ने ती प्रहरी बताउँछन् । प्रहरीको बर्दीमै रहेका घिमिरेको शंकास्पद मृत्युले संशय पैदा भएको छ ।
जवान घिमिरे बिहीबार ड्युटी सकेर घर निस्केका थिए । भोलिपल्ट बिहानै उनको ड्युटी थियो । त्यसपछि उनी कार्यालय नआएको दरबारमार्ग ट्राफिकले बताएको छ । बिहीबार साँझ नै उनको हत्या भएको अनुमान छ ।
