काभ्रे । खानीखोला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विपिन दाहाले आफूले निर्मल मोक्तानलाई जिम्मा लगाएको भन्दै पन्छिन खोजेको बेला उनीमाथि फेरि अर्को आरोप आइलागेको छ ।
दाहालले आफूले जिम्मा लगाएको भनिएका निर्मलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विपिन दाहाल सहकारीमा बदमासी गरेर भागिरहेको बताएका छन् । मोक्तानका अनुसार दाहालले सहकारीका शेयर सदस्यहरुले २ वर्षदेखि खोजिरहेका छन् । दाहाल भने सम्पर्क नगरीकन भागिरहेको मोक्तानको आरोप छ ।
मोक्तानले लेखेका छन्, ‘वास्तवमा विगत त ४ बर्षदेखि उहाँले सहकारीको कुनै बैठक र साधारण सभा राखेको छैन । बिगत २ बर्षदेखि शेयर सदस्यहरुले उहाँलाई खोजिरहेका छन । तर उहा सम्पर्कमा छैनन् ।’
शेयर सदस्य भएको नाताले आफूले पनि पटक–पटक साधारण सभा राख्न अनुरोध गरे पनि दाहालले नमानेको मोक्तानको भनाई छ । मोक्तानले थप लेखेका छन्, ‘आफ्नो कर्तुत लुकाउन उहाँले विभिन्न मानिसहरूलाई बिभिन्न आरोप गरिरहेका छ्न । यस्ता बदमासी कार्य आफु गर्ने, उल्टो अरूलाई दोष थुपार्ने उहाँको फट्याइ अब सबैले चिनिसके । उहासंग सचेत हुनुहोला ।’
आफूलाई सहकारीको जिम्मा लगाएको भन्दै दाहालले गरेको दावीबारे पनि मोक्तानले थप प्रष्ट पारेका छन् । ‘बिना साधारण सभा कुनै सस्था कसैले पनि जिम्मा लिदैन र दिदैन पनि।उहाको आफ्नो वदमासी छोप्न र जनतामा भ्रम छर्न निर्मललाइ जिम्मा दिएको भनी कुप्रचार गरेको प्रति खेद ब्यक्त गर्दछु।’ उनले लेखेका छन्, ‘र यो अत्यन्तै कुरा हस्यास्पद कुरा हो ।’
यस सम्बन्धी समाचार स्कुपखबरले सार्वजनिक गरेपछि अहिले काभ्रेमा तरंग पैदा भएको छ । दाहाललाई सहकारीको अपारदर्शी रकमबारे प्रष्ट पार्न सामाजिक सञ्जालबाटै सयौँ जनाले आग्रह गरिरहेका छन् ।

