काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत् प्रहरी जवान युवराज घिमिरे लागूऔषध सेवनकर्ताहरुसँगको विवादमा मारिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
तारकेश्वर नगरपालिका—९, मनमैजुमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सचिन परियारसहित ६ जनालाई पक्राउ गरेको छ । गएको शुक्रबार घिमिरे एक निर्माणाधीन घरको भुइँमा उनी रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए ।
लागूऔषध पदार्थ सेवनकर्ताहरुले जवान घिमिरेको हत्या गरेको खुलेको अनुसन्धानमा खटिएका एक अधिकतृ बताउँछन् । ती अधिकृत भन्छन्, ‘घटनास्थलको प्रकृति हेर्दा लागूऔषध पदार्थ सेवन गर्नेहरु आउनेजाने गरेको छ । चुरोटका ठुटाहरु, अन्य लागूपदार्थ सेवन गर्ने औजारका सामानहरु पनि भेटिएको छ ।’
त्यो दिन घिमिरे पनि मोटरसाइकलमा त्यहाँसम्म गएको देखिन्छ, त्यसपछि परियारसहितको समूहले उनको हत्या गरेको पाइएको ती अधिकृतले बताए । उनलाई इँटा प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले यसबारे आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ । स्रोतका अनुसार, प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत् रहँदा हाल पक्राउ परेका परियारसँग चिनजान भएको थियो ।
बिहीबार ड्यूटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन् । शुक्रबार अपराह्न मृत भेटिएको खबर आएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटिएको थियो ।
खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए ।
यो पनि पढ्नुहोस्…
बर्दीमै रहेका प्रहरीको शंकास्पद मृत्यु असामान्य, अनुहार छियाछिया !
मृत भेटिएका दरबारमार्ग ट्राफिकमा कार्यरत जवानको युनिफर्म र जुत्ता जलाएको अवस्थामा भेटियो
मनमैजुमा ट्राफिक जवान घिमिरे मृत भेटिए, हत्याको आशंका
