काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सरकारको प्रतिरक्षा गर्न महान्यायाधिवक्तासहित आठ जना सरकारी वकिल सर्वोच्च अदालतमा उत्रिने भएका छन् ।
महान्यायाधिवक्ता डा. नारायणदत्त कडेल र चार जना नायब महान्यायाधिवक्तासहित आठ सरकारी वकिलले सरकारका तर्फबाट बहस गर्ने तयारी गरेका हुन् ।
कार्कीलाई आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा सुनुवाइ हुँदैछ । सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न र आफूलाई पूर्ववत् पदमा पुनर्बहाली गर्न माग गर्दै कार्कीले रिट दायर गरेका थिए ।
सरकारका तर्फबाट महान्यायाधिवक्ता कडेल, नायब महान्यायाधिवक्ताहरू लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धवप्रसाद पुडासैनी र ध्रुवकुमार चौहान बहसमा सहभागी हुनेछन् । त्यस्तै, वरिष्ठ सहन्यायाधिवक्ता दिनेश घिमिरे, सोमाकान्त भण्डारी तथा उपन्यायाधिवक्ता दशरथ पंगेनी पनि सरकारी पक्षको प्रतिरक्षामा उत्रिने तयारीमा छन् ।
सरकारी पक्षले अन्तरिम आदेश जारी गर्न नहुने जिकिर गर्दै कानुन, संविधान, सर्वोच्च अदालतका पूर्वनजिर र विगतका अभ्यासलाई आधार बनाएर बहस गर्ने तयारी गरेको छ ।
आजको सुनुवाइमा सुरुमा रिट निवेदक कार्कीका तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन् । उनीहरूको बहस सकिएपछि सरकारी वकिलले सरकारको निर्णयको बचाउमा आफ्नो पक्ष राख्नेछन् ।
यसअघि मंसिर ७ गते न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, सुनुवाइ सुरु भएपछि नवनियुक्त आईजीपी मनोज केसीले सोही दिन अदालतको म्याद बुझेपछि प्रक्रिया अघि बढाउनुपर्ने भन्दै सुनुवाइ हुन सकेको थिएन ।
आज दुवै पक्षको बहस सकिएपछि केसीलाई आईजीपीका रूपमा काम गर्न रोक्ने वा नरोक्ने भन्ने विषयमा अन्तरिम आदेश जारी गर्ने नगर्ने निर्णय हुनेछ ।
कार्कीले आफूलाई सुनुवाइको मौका नदिई पर्याप्त आधार र कारणबिनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी गर्दै तिहारअघि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले मन्त्रिपरिषद्को निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न माग गरेका छन् ।
मन्त्रिपरिषद्ले गत कात्तिक १८ गते कार्कीलाई आईजीपीबाट पदमुक्त गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि सरकारले मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।

