काठमाडौं । लुम्बिनी विकास कोषको गाडी दुरुपयोग भएको भन्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
शुक्रवार साँझ लु १ झ ६९६ नम्बरको लुम्बिनी विकास कोषको गाडी पर्सा चोकबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लुम्बिनीलाई बुझाइएको हो ।
कोषको गाडी व्यापक दुरुपयोग भइरहेको स्थानीयको गुनासोपछि विभिन्न मागसहित आन्दोलनमा रहेको लुम्बिनी बचाउ महाअभियानका पदाधिकारी तथा सदस्यहरूले सो गाडी नियन्त्रणमा लिँदा गाडीमा सवार रहेका दुई जना र आन्दोलनकारी बिच सामान्य झडप समेत भएको थियो ।
कार्यालय समय सकिएको आधा घण्टापछि पनि सेतो नम्बर प्लेटको इलेकट्रोनिक गाडी गुडेको देखेपछि रोकेर सोधपुछ गर्ने क्रममा गाडी भित्रका एक जनाले आफू डिएसपी भएको रवाफ देखाउँदै गाडी दौडाउन लाग्दा लुम्बिनी बचाउ महाअभियानका वरिष्ठ सदस्य मेघनाथ आचार्यको पैताला च्यापीदिएको लुम्बिनी बचाउ संघर्ष समितिका संयोजक राम विकास चौधरीले बताए ।
‘सो गाडीमा चालक सहित दुई जना सवार थिए । दुवै जना न कोषका कर्मचारी हुन, न त पदाधिकारी,’ लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँनले भने ।
गैर सम्बन्धित व्यक्तिलाई सरकारी गाडी दिएर दुरुपयोग गर्ने–गराउने कोषका कर्मचारी र पदाधिकारी समेतलाई कारबाही हुनुपर्ने उनले माग गरे ।
