काठमाडौं । नेपाल प्रहरीको विशेष सक्रियताका कारण चालू आर्थिक वर्षको हालसम्म चार अर्ब तीन करोड ४४ लाख ९६ हजार ५२९.४८ पैसा बराबरको राजस्व संकलन भएको छ । यो विगतको तुलनामा धेरै हो ।
प्रत्येक जिल्लाहरुमा नेपाल प्रहरीले इमान्दार भएर काम गर्दा राजस्व संकलनमा वृद्धि भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एव्ं प्रहरी नायब महानिरीक्षक (डिआईजी) भीम प्रसाद ढकालले जानकारी दिए ।
राजस्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नवीन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी प्रभावकारी रुपमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी सफल भएको बताउँदै डिआईजी ढकालले भने, ‘उक्त राजस्व विभिन्न शीर्षकबाट उठेको हो ।’
उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयनलगायत शीर्षकबाट संकलन भएको डिआईजी ढकालले बताए ।
राज्यको कानुन कार्यान्वयनका क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छली, ट्राफिक कारबाही, अवैध मुद्रा, हुन्डी कारोबारलगायत कार्यबाट नेपाल प्रहरीले वार्षिक पमा ठूलो परिमाणमा राजस्व संकलन गर्दै आएको छ ।
ती शीर्षकमा संलग्न सात हजार छ सय ७९ जनालाई प्रहरीले कानुनी दायरामा ल्याई उक्त राजस्व संकलन गरेको डिआईजी ढकालले बताए । जसले गर्दा लुकाईछिपाई भन्सार छली गर्ने, अवैध सामान भित्र्याउनेजस्ता राजस्व चुहावटका क्षेत्रमा देखिएका समस्या समाधान भएको छ ।
संकलित राजस्वमध्ये अवैध मालसमान बरामदबाट एक अर्ब ३६ करोड ४४ लाख तीन हजार दुई सय ५६, ट्राफिक जरिवानाबाट एक अर्ब १० करोड ३६ लाख ४५ हजार तीन सय ५४ र फैसला कार्यान्वयनबाट एक अर्ब दुई करोड ७८ लाख तीन हजार पाँच सय ४३ संकलन भएको प्रवक्ता ढकालले जानकारी दिए ।
चालु आर्थिक वर्षमा हालसम्म संकलित राजस्व तथ्याकंको विश्लेषण गर्दा राजस्व संकलन ६ अर्ब पाँच करोड १७ लाख ४४ हजार ७९४.२२ पैसा हुने प्रक्षेपण गरिएको छ जुन गत आर्थिक वर्षको तुलनामा ३५ दशमलव १७ प्रतिशतले बढी हो ।
उक्त रकम मासिक औसत ५० करोड ४३ लाख १२ हजार ६६ का दरले हुन आउँछ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ८ महिनाको राजस्व संकलन गत आर्थिक वर्षको आठ महिनाको तुलनामा ५० दशमलव २८ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मको राजस्व संकलन दुवै आर्थिक वर्षको आठ(आठ महिनाको तुलना गर्दा १० दसमलव ४ प्रतिशतले राजस्व संकलनमा कमी आएको देखिन्छ ।
यसरी समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अबैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापन प्रभावकारीरुपमा जिल्लामा प्रहरी परिचालन गरिएपछि सो सफलता हासिल भएको हो ।
