काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धनबाट पूरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री हुन सक्ने संकेत गरेका छन् ।
प्रेस चौतारी कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको भन्दै यस्तो संकेत गरेका हुन् ।
ओलीले एमालेबाट अरू प्रधानमन्त्री बन्न अगाडि नसरेको पनि बताए । ‘अहिले मलाई त्यति मन पनि लागेको छैन । अरू केही एमालेबाट अगाडि पनि सरेका छैनन् । के गर्ने त उहाँ नै खानुहोला जस्तो पो देखिन्छ त’‚ ओलीको भनाइ छ ।
२१ फागुनमा पाँचदलीय नयाँ सत्ता गठबन्धन बने पनि प्रधानमन्त्रीका सन्दर्भमा भएको सहमति गोप्य राखिएको छ । एमाले, माओवादीकै दोस्रो तहका नेताहरू पनि यसबारे अनभिज्ञ छन् ।
दुई अध्यक्षबीच बाँकी करिब चार वर्ष आधा–आधा सरकारको नेतृत्व गर्ने सहमति भएको हुन सक्ने उनीहरूले अनुमान मात्रै गर्दै आएका छन् । यसबारे भएको सहमति प्रचण्ड–ओलीमा मात्र सीमित रहेको बताइएको छ ।
