काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं् पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डले फोन गरेका छन् । महरा सोमबार बिहान सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।
प्रहरी नियन्त्रणमै रहे पनि हाल नर्भिक अस्पतालमा रहेका महरालाई प्रचण्डले मंगलबार माओवादी केन्द्रको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठककै बिचमा फोन गरेका हुन् ।
सो क्रममा प्रचण्डले प्रश्न उठिसकेकाले अब के गरौँ भनेर महरालाई सोधेका थिए । ‘प्रधानमन्त्रीज्यूले महरालाई फोन गरेर आफै राजीनामा दिनुहुन्छ कि निलम्बन गरौँ भनेर सोध्नुभयो’, बैठकका सहभागी एक पदाधिकारीले भने, ‘यस विषयमा एक घण्टामा महराले जानकारी दिने बताउनु भएको छ ।’
बैठकले महराको जवाफ आएपछि थप कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा केही नेताहरूले सुन तस्करीमा मुछिएका महरालाई निलम्बन गर्नुपर्ने माग गरेका थिए ।
