काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का सदस्य संस्थाहरूले अब गरिमा विकास बैंकबाट सहुलियत ब्याजदरमा अधिकतम ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा पाउने भएका छन् ।
सोसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र टानका अध्यक्ष नीलहरि बाँस्तोलाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार, गरिमा विकास बैंकले टानका सदस्य संस्थाहरूलाई उपलब्ध गराउँदै आएका विभिन्न प्रकारका कर्जामा सहुलियतसहित सेवा उपलब्ध गराउनेछ ।
बैंकले उक्त सम्झौताअनुसार टानका सदस्यहरूलाई अधिकतम ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ । साथै, ५ लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउनेछ ।
यी सेवाहरूले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ र इच्छुक सदस्यहरूले आफूलाई पायक पर्ने यस विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिन सकिने बैंकले जनाएको छ ।
यस सम्झौतापश्चात् टानले गरिमा विकास बैंकलाई बैंकिङ पार्टनरको रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरूलार्ई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
