एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आसन्न राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने बाटो खोलिदिएको छ ।
कोलोराडोले ट्रम्पलाई रिपब्लिकन पार्टीको प्रारम्भिक निर्वाचनमा प्रतिस्पर्धा गर्न रोकेको थियो। त्यसको विरुद्ध ट्रम्प सर्वोच्च पुगेका थिए ।
सन् २०२१ मा क्यापिटल दंगामा ट्रम्पको प्रत्यक्ष संलग्नता रहेको भन्दै कोलोराडोसहित अन्य राज्यले उनलाई आसन्न निर्वाचनमा रोक्ने प्रयास गरिरहेका थिए । सर्वोच्चको फैसला पछि ट्रम्पलाई रोक्ने बाटो बन्द भएको छ ।
सर्वोच्चको फैसलासँगै अब राज्यहरुले ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवारका लागि प्रतिस्पर्धा गर्न रोक्न पाउने छैनन् । कोलोराडोमा रिपब्लिकन उम्मेदवारका लागि आज मतदान हुने तय छ । कोलोराडोसहित १५ राज्यमा आज निर्वाचन हुँदैछ । त्यसलाई ‘सुपर ट्युजडे’को संज्ञा दिइएको छ ।
सर्वोच्च अदालतले ट्रम्पलाई निर्वाचनमा लड्नबाट रोक्ने अधिकार त्यहाँको संसदसँग मात्र भएको फैसला गरेको छ । राज्यसँग त्यस्तो अधिकार नभएको सर्वोच्चको जिकिर छ । रिपब्लिकनबाट ट्रम्प राष्ट्रपतिको प्रतिस्पर्धामा सबैभन्दा अघि छन् ।
उनलाई निक्कली हेलीले टक्कर दिइरहेकी छन् । तर, माहोल ट्रम्पकै भएको धेरैको अनुमान छ ।
