काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूमाथि प्रतिक्रियावादीबाट पटक-पटक आक्रमण हुँदै आएको दावी गरेका छन् ।
हिद प्रतिष्ठान नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको शान्ति प्रक्रिया,संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आफूलाई घेरा हालेर सिध्याउने प्रयास भइरहे पनि उनीहरू सफल हुन नसकेको जिकिर गरेका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले भने, ‘कमरेड विप्लव उठ्दा तपाईंहरूमा एउटा तरंग पैदा हुन्छ । म त म नै भइहाले । म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ । मलाई प्रतिक्रियावादी शक्तिहरूबाट घेरा हालेर सिध्याउने प्रयासहरू भए । घेरा तोड्दै आएका छौं, ‘तोड्दै जानेछौं ।’
प्रधानमन्त्रीले आफूलाई प्रतिक्रियावादीले अविश्वसनीय भन्ने गरेको उल्लेख गरे । उनले भने, ‘प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोजे भने म कुनैपनि बेला लात्ताले हानेर निस्कन सक्छु । उनीहरुका लागि छैन म विश्वसनीय छैन र हुन पनि परेको छैन । आज नयाँ क्रम भंग गर्ने दिन बनेको छ। एकताबद्ध बनौं ।’
दाहालले माओवादी जमेको पोखरीजस्तो नभई निरन्तरतामा रमाउने नदी भएको जिकिर गरे । उनले सहिदको सपनालाई साकार पार्दै परिवर्तनलाई संस्थागत गर्न सबै क्रान्तिकारीहरू एक ठाँउमा आउन जरुरी रहेको धारणा राखे ।
उनले आफू नेतृत्वको सरकारले जनयुद्ध दिवसको घोषणा गरेको भन्दै छुटेका सहिदहरूलाई पनि राष्ट्रिय सहिद घोषणा गर्ने क्रममा रहेको बताए ।
क्रान्तिको बाटो सोझो नहुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मानिस दुई खुट्टाले हिँड्नुपर्छ, कहिले दायाँ र कहिले बाँया खुट्टा अगाडि जान्छ, मार्स्कवाद भनेको गन्तव्यमा पुग्नका लागि दुई खुट्टाले हिड्नुपर्छ ।’
