काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन रत्ननगरको शिशु निकेतन स्कुलको होस्टलमा १४ वर्षीया सालिन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको टिप्पणी गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले टिप्पणी गरेका हुन् । उनले प्रहरीले घटनाको गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
उनले हत्या वा आत्महत्या के हो भन्नेबारे विश्वसनीय तथ्य प्रस्तुत गर्नुपर्ने माग गरेका छन् । घटनाको अनुसन्धानमा सहयोग गर्न अध्यक्ष ओलीले सबैलाई आग्रह समेत गरेका छन् ।
‘चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा बालिका सालिन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ । यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस् । परिवार र आफन्त अत्यन्त पीडित छन् । यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ । हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौँ,’ उनले लेखेका छन् ।
