काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स खरिद घोटाला प्रकरणमा बयान लिने काम सकिएको बताएका छन् ।
मंगलवार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा उनले अनुसन्धानको काम अन्तिम चरणमा पुगेकाले केही समयभित्रै त्यसको नतिजा आउने पनि बताए ।
सो प्रकरणमा मुछिएका हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग पनि आयोगले बयान लिएको छ ।
प्रमुख आयुक्त राईले सो प्रकरणको तथ्य र प्रमाण केलाइरहेकाले केही समयभित्रै परिणाम आउने बताए । उनले गौतम बुद्धको समाधिस्थल रामग्राम स्तुप क्षेत्रको जग्गा ९९ वर्षका लागि लिजमा दिने मुद्दाको बारेमा प्रारम्भिक अनुसन्धान शुरु भएको र विस्तृत अध्ययन गरेर अघि बढ्न केही समय लाग्ने जानकारी पनि दिए ।
‘टेरामक्ससँग सम्बन्धित विषयको विषय पनि हामीले करिब करिब बयान टुंग्याएको अवस्था हो । अब विश्लेषण गरेर अध्ययन, अनुसन्धान गरेर यसलाई एउटा फर्म्याटमा ल्याउने, तथ्य र प्रमाणलाई केलाउने काम भइराखेको छ। यो अनुसन्धानको करिब करिब अन्तिम अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु‚’ प्रमुख आयुक्त राईले भने ।
आयोगले धितोपत्र बोर्ड शेयर कारोबारसम्बन्धी मुद्दाको अनुसन्धान पनि अघि बढाएको जनाएको छ । प्रमुख आयुक्त राईले वाइडबडी विमान खरिद, सेक्युरिटी प्रेस, चमेलिया जलविद्युत आयोजनाबारे छानबिन भइरहेको उल्लेख गर्दै छिटै टुंगो लगाउने बताए ।
उनले वाइडबडी विमान खरिद प्रकरणको छानबिनका लागि वाह्य मुलुकसँग द्विपक्षीय सम्झौता नभएको अनुसन्धानमा कठिनाई भईरहेको स्पष्ट पारे ।
आयोगले गत वर्ष परेका करिब २८ हजार उजुरीमध्ये ६५ प्रतिशत फछ्र्यौट गरेको र चालु आर्थिक वर्षमा त्योभन्दा बढी उजुरी पर्ने सम्भावना रहेको पनि औँल्याएको छ।
