गत २३ पुसमा नेपाली कांग्रेसका नेता गणेश लामा र व्यवसायी ज्ञानेन्द्र खड्काबीच ललितपुरको लन्डन हाउस होटलमा भेट भयो । उनीहरुको भेट कुनै योजनाअनुरुप थिएन, आकस्मिक थियो ।
त्यसपछि त्यहिँ उठ्यो पुरानो जग्गा कारोबारको हिसाब । खड्कालाई मेरो जग्गाको पैसा खोई भन्दै लामाले प्रश्न गरे ? अहिले नभएकाले केही समयपछि दिने भन्दै खड्काले आफैं कागज गर्न तयार भए । सोहीअनुरुप जग्गाको पैसा दिन्छु भनेर छिनोफानो गरी कागज गरे ।
२०७१ असोज ३० गते गणेश लामाले आफ्नो नामको जग्गा बेचेका थिए । जतिबेला ‘तीन महिनापछि पैसा दिन्छु’ भनेपछि लामाले खड्काकी श्रीमती नानी मैयाँ कार्कीको नाममा जग्गा पास गरिदिएका थिए ।
तीन महिना होइन्, वर्षौंदिन बित्यो खड्काको केही पत्ता लागेन । जग्गा पास गरेको ९/१० वर्षसम्म पनि खड्का सम्पर्कविहीन बनेर बसे । तर, डेढ/दुई महिना अगाडि लामाको खड्कासँग जम्काभेट भयो । सोही भेट थियो लन्डन हाउस होटलको भेट ।
तर, त्यो भेट लामालाई विष बन्न पुगेको छ । गत साता कांग्रेस केन्द्रीय सदस्य समेत रहेका लामालाई लक्षित गरेर उनै खड्काले मिडियाबाजी गरे । लामाको चरित्रहत्या गर्ने उद्देश्यले भए नभएको आरोपहरु लगाए । जसको लामाले खण्डन नै गर्नुपर्यो ।
विगत के थियो ? कस्तो थियो ? भन्दा पनि अहिले त्यो व्यक्ति कस्तो छ ? भनेर मूल्याकंन गर्नुपर्ने हुन्छ । विगतको कुरालाई लिएर खड्काले लामामाथि षड्यन्त्रपूर्वक ढंगले अपहरणको आरोप लगाए । आफूलाई ८ घण्टासम्म एक होटलमा लामाले अपहरण गरेर फिरौती मागेको दाबी गरे ।
आफूलाई गणेश लामा र सहदेव कक्षपतीलगायतले ललितपुर ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लण्डन हाउस होटलमा लगेर ८ घण्टा बन्धक बनाएको र त्रासमा पारेर करकापमा फिरौतीस्वरुप करोडौं लेनदेनको कागज गराएको भन्दै विज्ञप्ति जारी गरे ।
राजधानी जस्तो ठाउँमा अपहरण ? कसरी सम्भव भयो ? चौतर्फी प्रश्न उठ्यो । सुरुमा खड्काले लगाएको आरोप नहोला भन्न सकिएन । किनकि उनै लामा गुण्डा पृष्ठभूमीबाट राजनीतिमा आएका व्यक्ति हुन् । त्यसैले अपहरण गरे होला भनेर सोचियो ।
तर, लामाले पत्रकार सम्मेलन नै गरेर खण्डन गर्नुपर्यो । जतिबेला लामाको कुरा सुन्दा वास्तविक कुरा अर्कै रहेछ । हुँदै नभएको कुरालाई खड्काले बढाईचढाई लामाको चरित्रहत्या गर्ने उद्देश्यले आरोप लगाएको प्रष्ट भयो । त्यसपछि खड्का अहिले चुपचाप जस्तै छन् ।
उनीहरुको विवाद जग्गा कारोबारसँग सम्बन्धित रहेको पत्रकार सम्मेलनपछि थाहा भयो । करोडौं रुपैयाँ पचाउने उद्देश्यले खड्काले लामामाथि अपहरणको आरोप लगाएको खुल्यो । जुनकुरा लामाले पत्रकार सम्मलेनमा प्रष्ट भनेका छन् ।
जग्गा पास गरेको ९/१० वर्षसम्म पनि खड्का सम्पर्कविहीन बनेर बसेको लामाले सम्मेलनमा बताएका छन् । डेढ/दुई महिना अगाडि ज्ञानेन्द्रसँग जम्काभेट हुँदा उनैले जग्गाको पैसा दिन्छु भनेर छिनोफानो गरी कागज गरिएको थियो, लामाले सम्मेलनमा भने ।
त्यहि विषयलाई लिएर खड्काले आफूलाई अपहरण गरेको भनेर प्रचारबाजी गरेका हुन् । जबकी बन्धक बनाइएको होटलमा उनीहरु दुईजना ४ घण्टा सँगै बसेर चिया र खाजा खाएको समेत खुलेको छ । उनीहरु सँगै बसेको फोटो समेत सार्वजनिक भएको छ ।
लामाले अपहरण गरेर २० करोड रुपैयाँ मागेको भन्दै खड्काले प्रहरीमा उजुरी समेत दिएका थिए । प्रहरीले समेत अनुसन्धान सकिसकेको अवस्था छ । तर, प्रहरीले अपहरण नभएको निष्कर्ष निकालेको छ ।
यसरी अरुको पैसा नतिर्ने उद्देश्यले लामामाथि गम्भीर आरोप लगाएका खड्का आफैं प्रहरी अनुसन्धानको घेरामा तानिएका छन् । गैरआवसीय खड्का कुनैबेला उनै लामाको गुलामी गरेर हिँड्ने गरेको समेत खुलेको छ ।
