काठमाडौ । कीर्तिपुर नगरपलिका-४ स्थित नेपाल एपीएफ स्कुलको १९औं स्थापना दिवसका अवसरमा सञ्चालित प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि काभ्रेको साँगास्थित नेपाल पुलिस स्कुलले जितेको छ ।
कीर्तिपुर पाँगामा रहेको नेपाल एपीएफ स्कुलको मैदानमा सम्पन्न फाइनलमा दुवै टोलीबाट निर्धारित ६० मिनेटमा गोल हुन सकेन । त्यसपछि सोझै पेनाल्टी शुटआउटमा खेल गएको थियो ।
त्यसमा पनि दुवै टोलीले ४–४ गोल मात्र गर्न सकेपछि सडनडेथको दोस्रो पेनाल्टीमा पुलिसले एपीएफ स्कुलको चुनौती समाप्त पारेको थियो । पेनाल्टी शुटआउटमा पुलिसका गोलरक्षक दिप्सन परियार नायक बने ।
निर्धारित समयको खेलमा पनि एपीएफका चार राम्रा प्रहार गोल हुनबाट जोगाएका उनले पेनाल्टी शुटआउटमा एक प्रहार रोकेका थिए । नेपाल एपीएफ स्कुलको १९ औं स्थापना दिवसको अवसर आयोजित प्रतियोगितामा दिप्सन फाइनलको उत्कृष्ट खेलाडी हुनुका साथै उत्कृष्ट गोलरक्षक उपाधि भए ।
एपीएफ स्कुलका तेन्जिङ शेर्पा प्रतियोगिताको उत्कृष्ट खेलाडी, सैनिक आवासीय महाविद्यालयका डिगविजय शाही उच्च स्कोरर भए भने सैनिक महाविद्यालयलाई नै अनुशासित टिमको उपाधि दिइएको थियो ।
विजेता पुलिसले ३० हजार र उपविजेता एपीएफलाई २० हजार प्रदान गरिएको थियो । विजयी खेलाडीलाई सशस्त्र आईजीपी राजु अर्यालले पुरस्कृत गरेका थिए ।
माघ २२ देखि सञ्चालित प्रतियोगितामा आयोजक एपीएफका दुईसहित कुल १९ स्कुल सहभागी थिए ।
