काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि नै भट्टले आयल निगमको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन् । भट्टको कार्यकालमा २०७१ असोज १३ गतेदेखि अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ अनुसार आयल निगमको कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले तीनजनाको नाम सिफारिस गरेको थियो ।
समितिको फागुन ५ गतेको निर्णयअनुसार आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा सिफारिस हुनेहरुमा गोरखाको भीमसेन थापा गापा–१ भट्टसहित चितवनको भरतपुर–१४ का ई. डा डोलप्रसाद चापागाई र ललितपुरको ललितपुर–२४ का शत्रुघ्नप्रसाद पुडासैनी थिए ।
तर, सम्बद्ध मन्त्रालयको सिफारिसमा मन्त्रिमरिषदको बैठकले भट्टलाई आयल निगमको कार्यकारी निर्देशनमा नियुक्त गरेको हो ।
खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न समितिले गत पुस ७ सार्वजनिक सूचनाबमोजिम दरखास्त आह्वान गरेको थियो ।
