काठमाडौं । होटल तथा पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय सम्राट ग्रुपले आइतबारदेखि भैरहवामा चारतारे होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ ।
यसअघि चितवन, पोखरा र काठमाडौंमा ल्याण्डमार्क होटल सञ्चालन गरेर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको सम्राट ग्रुपले रूपन्देही सिद्धार्थनगर नगरपालिका ३ को सिंगापुर कोलनीमा चारतारे नयाँ होटल सञ्चालनमा ल्याएको हो ।
होटलले आजबाट व्यवसायीक रुपमा बुकिङ सूरु गरेको सम्राट ग्रुपका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले बताए । ‘आजबाट ५० कोठासहित सेवा बिक्री सुरू भएको छ । पहिलो दिन नै होटल फुल अकुपेन्सी भएको छ,’ पाण्डेले भने ।
पाण्डेले होटलमा आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्मको आउने र जाने यातायातको सुविधा समेत रहेको बताए । उनले बेलहिया नाकाबाट समेत होटलले यातायात सुविधा उपलब्ध गराउने जानकारी दिए ।
अधिकांश कोठामा सुर्यको बिहानी किरण पुग्ने गरी निर्माण भएको होटलका कतिपय कोठाबाट रिभरभ्यू समेत देख्न सकिने छ ।
होटलमा कोरोना बार र कोटियार्ड लाउन समेत रहेको ल्याण्डमार्क भैरहवाका महाप्रबन्धक बसन्त पुरीले जानकारी दिए । उनले जर्मन प्रविधिबाट होटलको निर्माण भएको भन्दै यस्तो शैलीको तारे होटल नेपालमै पहिलो पटक तयार भएको बताए ।
होटलमा स्वीमिङ पुलदेखि रूफटप बारसम्म रहेका छन् । होटल समूहमा छुट्टै पहिचान बनाउँदै गरेको सम्राट ग्रुपको चितवनमा ल्याण्डमार्क फरेस्ट पार्क सौराहाको उत्कृट होटलको रूपमा सेवा दिइरहेको छ ।
त्यस्तै कास्कीमा ल्यण्डमार्क पोखराले पनि फेवातालको किनारबाट उत्कृष्ट सेवा दिइरहेक आन्तरिक र बाह्य दुबै पर्यटकका लागि आकर्षण बन्दै गएको ल्याण्डमार्कले भविष्य अन्य स्थानहरूमा समेत होटलहरू सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिरहेको प्रमुख कार्यकारी अधिकृत पाण्डेको भनाइ छ ।
सम्राट ग्रुपले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिने सरकारको नीतिलाई साथ दिँदै नयाँ वर्ष र चाडपर्व लक्षित गरेर आकर्षक अफरहरू समेत दिने गरेको छ । विदा र चाडबाडको समयमा घुम्न निस्कने आन्तरिक पर्यटकका लागि राहत दिने उद्देश्यले यस्तो अफरहरू सार्वजनिक गर्ने गरिएको र यसलले निरन्तरता पाउने प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।
ल्याण्डमार्कको एकमात्र उद्देश्य पाहुनाहरूका लागि उत्कृष्ट सेवा दिने रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत पाण्डेले पर्यटकको रूची पूरा गर्न जुनसुकै समयमा पनि ल्याण्डमार्क काठमाडौं, पोखरा, चितवन र भैरहवा प्रतिवद्ध रहेको बताए ।
उनले सेवाको गुणस्तरमा कहिल्यै कुनै सम्झौतना नहुने समेत बताए । ल्याण्डमार्क सञ्चालन गर्ने सम्राट ग्रुप अफ कम्पनी नेपालको पर्यटन क्षेत्रमा अग्रपङ्क्तिमा रहेको छ ।
