काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको अनुपस्थितिमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दाहाल आज बिहान युगान्डा प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई तोकेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा भट्टराईले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने जनाएकी छन् ।
युगान्डाको राजधानी कम्पालामा भोलि र पर्सि दुई दिन चल्ने सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री दाहाल माघ ७ गते स्वदेश फर्किने कार्यक्रम छ ।
