काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेले आफूलाई गृहमन्त्री बन्न लागेको हल्ला चलाएको भन्दै त्यो दौडमा नरहेको बताए । नारायणघाट–बुटवल सडक खण्डमा पदयात्रामा निस्कनुअघि पत्रकार सम्मेलन गर्दै लामिछानेले यस्तो कुरा बताएका हुन् ।
उनले भने, ‘अहिले पनि उहाँहरूलाई के लाग्यो भने, सरकार फेरबदल हुन लागेको छ । योचाहिँ गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि के हो ? यसलाई थुन्नुपर्छ कि के हो ? भन्ने सोच उहाँहरूलाई भएको होला । तपाईंको सरकार तपाईंलाई मुवारक । म त्यो रेसमा पनि छैन । यो गठबन्धनको रेसमा पनि छैन । मलाई त्यसमा कुनै चासो छैन ।’
उनले अगाडि भने, ‘गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू, तपाईं आफ्नो पद सम्हाल्नुहोस् । अहिले मात्र होइन बाँचुञ्जेल गृहमन्त्री खानुस् । भलै चुनाव लडे पनि जित्नुपरेन । सबैभन्दा बढी मत ल्याएको सांसद म भन्न चाहन्छु–जोगाउनुहोला आफ्ना मानिसलाई ।’
सभापति लामिछानेले गृहमन्त्री श्रेष्ठ सुन तस्करीमा संलग्न आफ्ना मानिसलाई जोगाउन लागिपरेको समेत आरोप लगाए । गृहमन्त्री श्रेष्ठमाथि सुन तस्करी ढाकछोप गर्न लागेको उनले आरोप लगाएका हुन् ।
अध्यागमन विभागका महानिर्देशक झलकाराम अधिकारीलाई मन्त्रालय तानेर गृहमन्त्री श्रेष्ठले जोगाउन लागिपरेको लामिछानेको भनाइ छ । अधिकारीको अभियुक्त दावा छिरिङसँग बारम्बार म्यासेज आदन–प्रदान भएको प्रमाण लगेर दिँदा पनि कारबाही नभएको लामिछानेले बताए ।
६१ किलो सुन प्रकरणमा गृहमन्त्रीको सचिवालय र अधिकारीबीच पनि सम्बन्ध रहेको लामिछानेको दाबी छ । उनले भने, ‘जीवन चलाउने भन्ने मानिस को हो भनेर एक पटक सोध्नुहोला । झलकरामजीसँगको उहाँको सम्बन्ध के हो ? गृहमन्त्रीसँगको सम्बन्ध के हो ? गृहमन्त्रीको वरिपरि भएका मानिससँगको सम्बन्ध के हो भनेर सोध्नुहोला। मैले यो भन्नैपर्ने भयो ।’
