काठमाडौं । ४ मंसिर २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदेशसभामा मोरङ क्षेत्र नम्बर २ को (ख) बाट उम्मेद्वार थिए विनोद कार्की । तर, उनलाई एमाले उम्मेदवार लिलाबल्लभ अधिकारीले पराजित गरे ।
उक्त क्षेत्रमा प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट सुजाता कोइराला उम्मेद्वार थिइन् । उनलाई पनि एमाले नेता ऋषिकेश पोखरेलले पराजित गरेका हुन् । सुजताको आडमा प्रदेशसभा टिकट पाएका उनै कार्की एक वर्षपछि प्रहरीको फन्दामा परेका छन् ।
गत शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कांग्रेस नेता रहेका कार्कीलाई भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सघाउने गरेको आरोपमा पक्राउ गरेको हो । उनी ट्राभल्स सञ्चालक समेत हुन् ।
मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोलमा सिटि टुर्स एण्ड ट्राभल्स सञ्चालन गर्दै आएका कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्खुबाट पक्राउ गरेको हो ।
भिजिट भिषामा विदेश जान लागेका युवा युवतीहरुको शंकास्पद कागजातसहित गत असोज १७ देखि हालसम्म १ हजार ५१३ थान राहदानी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको छ ।
जसमध्ये २४६ कागजातमा प्लस्टुको नक्कली सर्टिफिकेट भएको पाइएको छ । यस्तै श्रम स्वीकृती, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेण्ट पनि नक्कली देखिएको छ ।
उक्त कागजातहरु बनाउने व्यक्तिहरुको पहिचान गर्ने क्रममा एजेन्ट, कन्सलटेन्सी , ट्राभल्स एजेन्सीहरुले एयरलाईन्सलाई प्रतिव्यक्ति १० देखि १५ हजारसम्म र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म सेटिङ मिलाई विदेश पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सोही क्रममा कार्कीको संलग्नता खुलेपछि उनलाई बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालय प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जनाकारी दिए ।
यो प्रकरणमा प्रहरीले अध्यागनका कर्मचारीसहित सेटिङमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
