काठमाडौं । गत ५ मंसिरमा गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्ने निर्णय गरेको थियो । हाल प्रहरी संगठनमा बढुवा र पद रिक्तसँगै ७ जना एसपीको पद रिक्त छ ।
तर, गृह मन्त्रालयको बढुवा समितिले सिफारिस सूची प्रकाशन गर्न सकेको छैन । एसएसपी बढुवाको निर्णय भएपछि एसएसपी मोहन प्रसाद पोखरेलले उमेरहदका कारण अवकाश पाए भने अर्का एसएसपी मधुसुदन लुँइटेलले अवकाशको १५ दिनअघि नै राजीनामा दिए ।
त्यसरी रिक्त दरबन्दीको संख्या ७ पुगे पनि प्राविधिकतर्फको समेत २ वटा दरबन्दी समायोजन गरेर ९ जना बढुवा गर्ने तयारी प्रहरी प्रधान कार्यालयको छ । प्राविधिक र एमटी (सवारी व्यवस्थापन) शाखामा रिक्त भएको दरबन्दीलाई समेत नेपाल प्रहरीतर्फ ल्याएर ९ जना बढुवा गर्ने प्रयास भइरहेको हो ।
प्रधान कार्यालयले प्राविधिकतर्फको २ दरबन्दी नेपाल प्रहरीतर्फ ल्याउन सहमतिका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइएको छ । गृहसमेत उक्त प्रस्तावमा सकारात्मक रहेको स्रोत बताउँछ । तर, कसलाई १ नम्बरमा बढुवा गर्ने भन्ने विवादका कारण बढुवा हुन नसकेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
त्यस्तै अर्को कारण अघिल्लो बढुवामा छुटेका केही डिएसपीलाई जसरी पनि बढुवा गर्नुपर्ने दबाबपछि प्रहरी प्रधान कार्यालयले दरबन्दी रिक्त भएपनि बढुवा निकाल्न नसकेको हो । त्यसमा २०६१ सालमा इन्स्पेक्टरमा भर्ना भएको टोलीबाट केही छुटेका थिए ।
१२ जना प्रतिस्पर्धामा
अहिले बढुवाको लागि मुख्य प्रतिस्पर्धामा १२ जना छन् । पहिलो नम्बरमा डिएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि क्रमशः अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे दौडमा देखिएका छन् ।
यीमध्येमा दरबन्दी मिलान नभएको खण्डमा ७ जना मात्र बढुवा हुनेछन् । त्यसमध्ये वरिष्ठताका आधारमा ७ जना बढुवा भएमा निरञ्जन भट्टसम्म बढुवा हुने देखिन्छन् । ९ जना बढुवा भएको खण्डमा सन्तोष तामाङसम्म बढुवा हुनेछन् ।
तर, अहिले सिनियरभन्दा कार्यक्षमतालाई आधार मान्ने तयारी रहेकाले यसमध्ये केही छुट्ने र पछाडिबाट केही आउने सम्भावना पनि छ । सोही कुरा बुझेका केहीले आफू निकटका राजनीतिक दलबाट दबाब दिइरहेका छन् । त्यसैले सिनियारिटीका आधारमा बढुवा नहुने देखिन्छ ।
एक नम्बरमा आउनको लागि क्षेत्री स्वभाविक प्रतिस्पर्धी भएपनि उनलाई पछाडि पारेर अगाडि आउन थुप्रै लागिपरेको बताइन्छ । जिसी समेत एक नम्बरमा आउन लागिपरेका छन् । त्यस्तै भट्ट अघिल्लो बढुवामै छुट्न नहुने भन्दै आलोचना भएपछि अहिले उनीसमेत एक नम्बरमा बढुवा हुन लागिपरेका छन् । त्यस्तै तामाङ, लिम्बु र घिमिरे पनि अगाडि आउन लागिपरेका छन् ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर पनि विवादमा आउन चाहेका छैनन् । कार्यक्षमता र सिनियारिटीको आधारमा बढुवा गर्नुपर्ने पक्षमा रहेका कुँवर यसअघिको बढुवाहरुमा समेत विवादमा आएका छैनन् ।
त्यसैले अहिलेको बढुवामा चर्को रस्साकस्सी देखिएको छ ।
