काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी हिरासतमा भेट्न नदिएको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ।
आयोगको निर्णयअनुसार पत्र लेखेर एसएसपी खड्कालाई बयानका लागि बोलाइएको आयोगकी सदस्य लिली थापाले जानकारी दिएकी छन्।
पूर्वप्रधानन्यायाधीश जबरालाई आइतबार मध्यराति महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएर टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याएको थियो।
उनलाई एसएसपी खड्काको कार्यकक्षमा राखिएको थियो। प्रहरीले भने जबरालाई ‘सुरक्षा थ्रेट’ भएका कारण सुरक्षित स्थानमा ल्याइएको दाबी गरेको थियो।
जबरालाई भेट्न तथा उनको अवस्थाबारे जानकारी लिन राष्ट्रिय मानवअधिकार आयोगको टोली टेकु पुगेको थियो। तर प्रहरी कार्यालयको गेटमै करिब ४५ मिनेट कुर्दासमेत टोलीले जबरालाई भेट्न पाएन र फर्किएको थियो।
घटनापछि आयोगले प्रहरीको उक्त व्यवहारप्रति आपत्ति जनाउँदै आफ्नो संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने क्रममा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीमाथि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको थियो।
अब आयोगले एसएसपी खड्कालाई बोलाएर आयोगको टोलीलाई जबरासँग भेट्न किन रोकियो भन्ने विषयमा जानकारी तथा स्पष्टीकरण लिने भएको हो।
